मातृभाषामा शिक्षा कार्यान्वयन गर्न स्थानीय तह अधिकारसम्पन्न : विज्ञ



काठमाडौँ, २४ जेठ । मातृभाषामा शिक्षा कार्यान्वयनका लागि स्थानीय तह अधिकारसम्पन्न रहेको भन्दै विज्ञहरूले सम्बन्धित निकाय, सरोकारवाला तथा समुदाय सक्रिय भए कानुनी व्यवस्था बाधक नरहेको बताएका छन्।

नेपाल आदिवासी जनजाति विद्यार्थी महासङ्घले आइतबार काठमाडौँमा आयोजना गरेको मातृभाषा शिक्षा प्रशिक्षण कार्यक्रममा वक्ताहरूले मातृभाषामा शिक्षा सुनिश्चित गर्न समुदायको सक्रियता र संस्थागत समन्वय आवश्यक रहेको धारणा राखेका हुन्।

थारु आयोगका सदस्य शान्ति मोदीले मानिसका अन्तरङ्ग भावना र विचार अभिव्यक्त गर्न मातृभाषा सबैभन्दा प्रभावकारी माध्यम हुने बताउनुभयो। “अङ्ग्रेजी वा नेपालीमा बोल्दा कृत्रिमता महसुस हुन सक्छ, तर मनका कुरा खुलस्त राख्न मातृभाषा आवश्यक हुन्छ,” उहाँले बताउनुभयो।

नेपाल आदिवासी जनजाति महासङ्घका सङ्घीय उपाध्यक्ष अमृत सुनुवारले मातृभाषामा शिक्षाको अधिकारलाई कानुनमै थप स्पष्ट र सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो।

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख रामकुमार मादेनले समुदाय सक्रिय भएका केही स्थानमा मात्रै मातृभाषा शिक्षाको अभ्यास अघि बढेको उल्लेख गर्दै मातृभाषाका शिक्षक दरबन्दीको मागसमेत उठिरहेको जानकारी दिनुभयो। उहाँले प्रतिष्ठान, आयोग तथा सम्बन्धित सङ्घसंस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।

भाषाविद् तथा प्रशिक्षक अमृत योन्जन तामाङले नेपालको संविधानको धारा ३१ ले प्रत्येक नेपाली समुदायलाई आफ्नो मातृभाषामा शिक्षा पाउने तथा विद्यालय सञ्चालन गर्ने अधिकार सुनिश्चित गरेको स्मरण गराउनुभयो। उहाँले संविधानको अनुसूची ८ अनुसार आधारभूत तथा माध्यमिक शिक्षाको अधिकार स्थानीय तहमा रहेको जानकारी दिँदै समुदायको सक्रियताको अभावले संवैधानिक अधिकार कार्यान्वयनमा चुनौती देखिएको बताउनुभयो।

कार्यक्रममा भाषाविद् तथा प्रशिक्षक रामबहादुर चौधरीले मानक भाषा र लेखन शैलीका विषयमा प्रशिक्षण दिँदै भाषाको औपचारिक विकास, एकरूपता र अपनत्वका लागि मानक आवश्यक हुने बताउनुभयो। उहाँले थारु भाषाका लागि मानक र शैलीसम्बन्धी दस्तावेज चाँडै सार्वजनिक गरिने जानकारी दिनुभयो।

कार्यक्रमका अध्यक्ष चन्द्रप्रसाद चौधरीले जेठ २४ गतेदेखि सुरु भएको मातृभाषा शिक्षा प्रशिक्षण कार्यक्रम जेठ २८ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो। उहाँका अनुसार थारु, शेर्पा, कुमाल, बरामलगायत भाषामा प्रशिक्षण सञ्चालन गरिनेछ।

कार्यक्रममा महासङ्घका सल्लाहकार दिल गुरुङ, सीएन थारु तथा महेश चौधरीलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्