भारत भ्रमण उपलब्धिमूलक रह्यो : परराष्ट्रमन्त्री खनाल
काठमाडौँ, २४ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किनुभएको छ। मन्त्री खनालसहितको नेपाली प्रतिनिधिमण्डल साँझ स्वदेश फर्किएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले भ्रमण उपलब्धिमूलक रहेको बताउँदै नेपाल–भारत सम्बन्धलाई थप व्यावहारिक र प्रविधिमैत्री बनाउने दिशामा महत्वपूर्ण प्रगति भएको जानकारी दिनुभयो।
उहाँका अनुसार सन् २०२३ मा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाबीच भएको समझदारीअनुसार व्यक्तिदेखि व्यक्तिसम्म (पीटुपी) हुने सीमापार भुक्तानी प्रणालीको पूर्ण सञ्चालन सुरु गर्ने विषयमा आपसी समझदारी भएको छ।
मन्त्री खनालले भारत सरकारको विकास सहायतामा महाभूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत निर्माण सम्पन्न भएका ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा पुनर्निर्माण परियोजना औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो।
प्रविधि क्षेत्रको सहकार्यअन्तर्गत काठमाडौँ विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङअन्तर्गत रहेको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर र भारतको डिजिटल इन्डिया भाषिनी डिभिजनबीच ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद मञ्च विकासका लागि राष्ट्रिय डिजिटल सार्वजनिक पूर्वाधार सहनिर्माणसम्बन्धी सम्झौतापत्र आदानप्रदान भएको उहाँले बताउनुभयो।
“सन् २०२३ जुनमा भएको समझदारीपत्रअनुसार सीमापार भुक्तानी कारोबारको पूर्ण सञ्चालन सुरु गर्ने सहमति भएको छ,” मन्त्री खनालले भन्नुभयो, “भाषा अनुवाद मञ्चका लागि भएको नयाँ सम्झौताले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विकासमा समेत सहयोग पुग्ने विश्वास गरेका छौँ।”
भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस. जयशङ्करसँग द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, कूटनीतिक विषय तथा सीमासम्बन्धी मुद्दामा फलदायी छलफल भएको उहाँले बताउनुभयो।
नेपाल–भारत सीमा विवाद समाधानका लागि दुवै देशका विद्यमान संयन्त्रहरू सक्रिय रहेको उल्लेख गर्दै मन्त्री खनालले कूटनीतिक माध्यमबाटै समाधान खोज्ने नेपालको स्पष्ट नीति रहेको बताउनुभयो।
“सीमासम्बन्धी विषयलाई कूटनीतिक संयन्त्रमार्फत समाधान गर्ने नेपालको स्पष्ट दृष्टिकोण छ,” उहाँले भन्नुभयो, “सोहीअनुसार दुवै देशका संयन्त्रहरूले काम गरिरहेका छन् र समाधानका लागि निरन्तर संवाद भइरहेको छ।”
मन्त्री खनालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक उडान मार्ग (एयर रुट) सम्बन्धमा पनि भारतीय पक्षसँग छलफल भएको जानकारी दिनुभयो। यस विषयमा छिट्टै प्राविधिक समितिको बैठक बस्ने उहाँले बताउनुभयो।
परराष्ट्रमन्त्री खनाल भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा भारत भ्रमणमा जानुभएको थियो।
प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार
















