बोरा अभावमा उदयपुर सिमेन्ट उद्योगको साढे ६ करोडको सिमेन्ट गोदाममै थन्कियो
उदयपुर, २४ जेठ । राज्य स्वामित्वको उदयपुर सिमेन्ट उद्योग (गैँडा छाप सिमेन्ट) आर्थिक संकट, व्यवस्थापकीय कमजोरी र सरकारी बेवास्ताका कारण गम्भीर समस्यामा परेको छ। उत्पादन भइसकेको सिमेन्टसमेत प्याकिङका लागि आवश्यक बोरा अभाव हुँदा करिब साढे ६ करोड रुपैयाँ बराबरको सिमेन्ट गोदाममै थन्किएको छ।
देशभर निर्माण सामग्रीको मूल्य बढिरहेका बेला उद्योगले उत्पादन गरेको सिमेन्ट बजारमा पठाउन नसक्दा आर्थिक संकट थप गहिरिएको छ। गत माघ महिनादेखि उद्योग पूर्ण रूपमा बन्द रहेको छ भने मौज्दात क्लिन्कर पिसेर उत्पादन गरिएको सिमेन्ट पनि प्याकिङ अभावमा बिक्री हुन सकेको छैन।
उद्योगका अनुसार हाल करिब ८२ हजार बोरा बराबरको सिमेन्ट मौज्दात रहेको छ। त्यसमध्ये ५० हजार बोरा तयारी सिमेन्ट गोदाममा थन्किएको छ भने थप २७ हजार बोरा उत्पादन गर्न पुग्ने क्लिन्कर मौज्दात छ। साथै, प्याकिङ हाउसमा छरिएर तथा समयमै व्यवस्थापन हुन नसक्दा करिब पाँच हजार बोरा बराबरको सिमेन्ट प्रयोगविहीन बनेको छ।
सिमेन्ट उत्पादन विभाग प्रमुख नगेन्द्रप्रसाद देवले उत्पादन भएको सिमेन्ट समयमै प्याकिङ गरी बजार पठाउन पटक–पटक आग्रह गरिए पनि व्यवस्थापनले चासो नदिएको बताउनुभयो। उहाँले हालको क्षति प्राविधिक नभई व्यवस्थापकीय असफलताको परिणाम भएको उल्लेख गर्नुभयो।
“हामीले पटक–पटक बोरा व्यवस्थापन गर्न आग्रह गर्यौँ, तर सुनुवाइ भएन,” उहाँले भन्नुभयो, “उत्पादन भएर तयार भएको सिमेन्ट गोदाममै थन्किनु उद्योगका लागि मात्र होइन, राज्यकै लागि लज्जास्पद अवस्था हो।”
उद्योग प्रशासन प्रमुख गम्भीरजङ खत्रीका अनुसार प्रतिवोरा ७ सय ७५ रुपैयाँका दरले हिसाब गर्दा गोदाममा थन्किएको सिमेन्टको मूल्य करिब ६ करोड ३५ लाख ५० हजार रुपैयाँ पुग्छ। उद्योगसँग प्याकिङका लागि आवश्यक बोरा खरिद गर्ने रकमसमेत नभएकाले सिमेन्ट बजार पठाउन नसकिएको उहाँले बताउनुभयो।
“उद्योग प्राविधिक कारणले बन्द भएको होइन,” खत्रीले भन्नुभयो, “तर मर्मतसम्भार र प्याकिङका लागि आवश्यक रकम अभाव हुँदा उत्पादन भएको सिमेन्ट बिक्री गर्न नसकिएको अवस्था छ।”
लामो समयदेखि आर्थिक संकट झेलिरहेको उद्योगमा कच्चा पदार्थ व्यवस्थापन, मेसिन मर्मत, विद्युत् भुक्तानी तथा कर्मचारी व्यवस्थापनसम्बन्धी समस्या पनि चुलिएको छ। उद्योगमा कार्यरत १ सय ७७ कर्मचारी तथा मजदुर र ५९ जना सुरक्षा गार्डको मासिक तलबभत्ता मात्रै एक करोड रुपैयाँभन्दा बढी हुने गरेको छ। कर्मचारीहरूले करिब १५ महिनादेखि तलबभत्ता नपाएको गुनासो गरेका छन्।
तलब नपाएपछि कर्मचारी तथा मजदुर उद्योगको मूल गेटमा धर्ना, प्रदर्शन र आन्दोलनमा उत्रिएका छन्। श्रमिक आन्दोलन, उत्पादन अवरोध र आर्थिक संकटका कारण उद्योगको अवस्था झन् जटिल बन्दै गएको छ।
सरकारले उद्योग पुनः सञ्चालन, आधुनिकीकरण र सुधारका लागि पटक–पटक प्रतिबद्धता जनाए पनि व्यवहारमा ठोस पहल हुन नसकेको आरोप सरोकारवालाहरूले लगाएका छन्। करोडौँ रुपैयाँ बराबरको सिमेन्ट गोदाममै थन्किँदा सम्बन्धित निकाय मौन बसेको भन्दै स्थानीयवासी, कर्मचारी र उद्योगसँग सम्बन्धित पक्षहरूले सरकार र व्यवस्थापनको भूमिकामाथि प्रश्न उठाएका छन्।
प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार
















