कोशीसहित केही क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो दिन रहने
काठमाडौँ, २४ जेठ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ। कोशी प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज राति कोशी प्रदेशसहित देशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने मधेस तथा अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराईका अधिकांश स्थानमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।
महाशाखाले कोशी प्रदेशका थोरै स्थान, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। कर्णाली प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
सोमबार र मङ्गलबार मधेस प्रदेशका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
भोलि र पर्सी कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य हिमाली क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ।
प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार
















