एसियन गेम्स पुरुष क्रिकेट छनोट : उपाधि चुम्न हङकङसँग भिड्दै नेपाली टोली



काठमाडौँ। सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले सोमबार हङकङसँग प्रतिस्पर्धा गर्दै छ। आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो।

आइतबारै भएको दोस्रो सेमिफाइनलमा मलेसियालाई ६ विकेटले हराउँदै हङकङ फाइनलमा पुगेको हो। टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको ११५ रनको लक्ष्य हङकङले १८.२ ओभरमा ४ विकेट गुमाएर १२० रन बनाउँदै पूरा गर्‍यो।

नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई २२१ रन र दोस्रो खेलमा मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको थियो।

नेपाल र हङकङको भिडन्त मध्याह्न १२:१५ बजे सुरु हुने छ। जारी प्रतियोगितामा नेपाल र हङकङ दुवै टोली अपराजित छन्। त्यसैले दुवै टोली फाइनल जित्दै अपराजित च्याम्पियन बन्ने योजनामा छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा नेपाल र हङकङबीच १४ पटक प्रतिस्पर्धा भएको छ। नेपालले ७ खेलमा जित हात पारेको छ भने हङकङले ५ खेल जितेको छ। यी दुई टोलीबिचका दुई खेल भने वर्षाका कारण रद्द भएका थिए।

एसियन गेम्स छनोटको तेस्रो स्थानका लागि मलेसिया र ओमानबीच आजै प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्