पार्टीभित्र अत्याचारले सीमा नाघेको भन्दै पूर्व सांसद लामाले त्यागिन् नेकपा



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा पूर्व सांसद छिरिङ ल्हामु तामाङले पार्टी परित्याग गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले पार्टीभित्रका केही व्यक्तिहरूले गरेको अन्याय, अत्याचार र निषेधको सीमा नाघेपछि जिम्मेबारीबाट अलग हुने निर्णय उल्लेख गरेकी छन् ।

वक्तव्यमा उनले भनेकी छन्–’मलाई यो निर्णय लिन बाध्य बनाउने संकीर्ण, असहिष्णु र निषेधको राजनीतिलाई धन्यवाद दिन चाहन्छु, किनकि त्यसैले मलाई स्वतन्त्रताको मूल्य अझ गहिरो रूपमा बुझाएको छ।’

उनले आफ्नो विरुद्ध चौतर्फी षड्यन्त्रका जालो बुन्ने, आत्मबल कमजोर पार्ने तथा राजनीतिक र व्यक्तिगत रूपमा समाप्त पार्ने प्रयासहरू बारम्बार भएको उनले बताएकी छन् ।

छिरिङ २०७९ को प्रतिनिधि सभामा मुगाली समुदायबाट पहिलोपटक सांसद बन्न सफल भएकी थिइन् । नेकपा माओवादी केन्द्रले उनलाई जुम्लाबाट समानुपातिकतर्फ सांसद चुनेको थियो ।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्