इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी, पदाधिकारीमध्ये कोषाध्यक्षमा मात्रै मतदान [सूचीसहित]
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २४औँ वार्षिक साधारणसभाबाट कोषाध्यक्षबाहेक कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत भएका छन् ।
इप्पानको संशोधित विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वतः अध्यक्ष बनेका छन् । वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा सर्वसम्मत निर्वाचित भएका छन् । अर्का उमेदवार बलराम खतिवडाले आफ्नो उमेदवारी फिर्ता लिएपछि लामा निर्विरोध निर्वाचित भएका हुन् ।
संस्थाको अन्य पदमा पनि सहमतिको आधारमा नेतृत्व चयन गरिएको छ । जसअनुसार महासचिवमा टेकनाथ आचार्य (टीएन आचार्य) र उपमहासचिवमा कविता पोख्रेल सर्वसम्मत चुनिएका छन् ।
उपाध्यक्ष पदका लागि उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठकबीच सहमति जुटेको छ । विधान अनुसार हाल पाँचजना उपाध्यक्ष रहने व्यवस्था भए पनि विधान संशोधन मार्फत दुईजना थप गर्ने निर्णय गरिएको छ । उक्त संशोधित विधान जिल्ला प्रशासन कार्यालयबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।
सचिवमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी सर्वसम्मतिले निर्वाचित भएका छन् । विधान संशोधनपश्चात् सचिव पदमा पनि दुईजना थप गरिने जानकारी दिइएको छ ।
कार्यसमितिका अन्य पदमा सहमति जुटे पनि कोषाध्यक्ष पदमा भने दुई उमेदवारबीच मतदान भएको थियो । जसमा भारी मतान्तरले शंकर बस्याल विजयी भएका छन् । बस्यालले २६७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत मात्र प्राप्त गरे ।
सातजना खुला सदस्य पदमा पनि सबै उमेदवार निर्विरोध निर्वाचित भएका छन् । खुला सदस्यमा अनुप आचार्य, कदम केसी, जगदिश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कंडेल, मिलन खड्का र वर्णन लामिछाने सर्वसम्मत भएका हुन् ।
तीन महिला सदस्यमा ज्योति गैरे, संगीता धमला र प्रतिमा ज्ञवाली निर्विरोध भएका छन् । बाबुराम थापा, सुकुन्द ओझा, सन्तोषराज नेपाल, इन्दिरा पन्त र सोमनाथ कँडेललाई सदस्यमा नियुक्त गरिएको छ ।



प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार
















