काभ्रेको नदीतटीय क्षेत्रमा राखिँदै मौसम मापन उपकरण



काठमाडौं । वर्षाका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न काभ्रेपलाञ्चोकका विभिन्न नदीतटीय क्षेत्रमा मौसम तथा बाढी मापन केन्द्र व्यवस्थित गर्न थालिएको छ । सुनकोसी र रोशी नदी आसपासका विभिन्न क्षेत्रमा उपकरण व्यवस्थित गर्न थालिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, जिल्लामा तीन बाढी मापन र एक स्थानमा मौसम मापन केन्द्र स्थापना गर्न लागिएको हो । यसनिम्ति सरोकारवाला निकाय तथा स्थानीयसँग विभागले छलफल समेत गरिसकेको छ ।

सात स्थानमा मौसम मापन र तीन ठाउँमा बाढी मापन उपकरण जडान गरिएको विभागका वरिष्ठ हाइड्रोलोजिष्ट विनोद पराजुलीले जानकारी दिए । धुलिखेल, खोपासी, नाला, पाँचखाल, मण्डनदेउपुर, दोलालघाट र पचुवारघाटमा मौसम मापन उपकरण जडान गरिएको उनले बताए ।

सुनकोसी नदीअन्तर्गत दोलालघाट र पचुवारघाट तथा पनौती बजारनजिकै बाढी मापन उपकरण जडान गरिएको छ ।

रोशी गाउँपालिका–२, फलामेसाँघुमा मौसम मापन तथा पनौती र नमोबुद्ध नगरपालिकाको सिमाना, रोशी खोला पुल र रोशी–सुनकोसीको संगमस्थल नेपालथोकनजिकको पुलमा बाढी मापन उपकरण थप्ने प्रक्रिया अघि बढाइएको पराजुलीले बताए ।

पनौतीको गोरखनाथ मन्दिरछेउमा परीक्षणका निम्ति बाढीको जानकारी दिने बत्ती समेत जडान गरिएको उनले बताए । रासस

प्रकाशित मिति: १ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्