रोनाल्डो गोल गर्न चुक्दा पोर्चुगल कंगो डीआरसँग बराबरीमा रोकियो
काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत भएको रोमाञ्चक खेलमा कंगो डीआरले बलियो टोली पोर्चुगललाई १-१ गोलको बराबरीमा रोक्दै ऐतिहासिक अंक जोडेको छ। कंगो डीआरका लागि विश्वकप इतिहासमै यो पहिलो गोल र पहिलो अंक हो। खेलमा पोर्चुगलले सुरुवाती अग्रता लिएको थियो तर त्यसलाई जोगाउन सकेन। अर्कोतर्फ, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यसै खेलमार्फत विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्।
पोर्चुगलको सुरुवाती अग्रतास् खेलको छैटौँ मिनेटमै पेड्रो नेटोको उत्कृष्ट क्रसमा जोआओ नेभेसले हेडमार्फत गोल गर्दै पोर्चुगललाई १(० को अग्रता दिलाएका थिए। कंगोको ऐतिहासिक पुनरागमनस् पहिलो हाफको इन्जुरी समयमा आर्थर मासुआकुको क्रसलाई सदुपयोग गर्दै योआने विसाले उत्कृष्ट हेड गोल गरे।
यो गोल कंगो डीआरका लागि ५२ वर्षपछिको ऐतिहासिक क्षण बन्यो, जुन सन् १९७४ मा विश्वकपमा डेब्यु गरेयता उनीहरूको पहिलो विश्वकप गोल हो। कप्तान क्रिस्टियानो रोनाल्डो विश्वकपको इतिहासमा सुरुआती ११ मा मैदान उत्रने सबैभन्दा बढी उमेरका आउटफिल्ड खेलाडी बनेका छन्।
यो उनको २३औँ विश्वकप खेल हो, जसले उनलाई इटालीका लिजेन्ड पाओलो माल्डिनीसँगै सर्वकालीन बढी खेल खेल्नेको सूचीमा चौथो स्थानमा पुर्याएको छ। दोस्रो हाफको सुरुवातमै पोर्चुगलका जोआओ कान्सेलोले ओभरहेड किक मार्फत बललाई जाली चुमाएका थिए, तर रेफ्रीले त्यसलाई अफसाइड घोषित गरिदिए।
बराबरी गोलपछि उत्साहित बनेको कंगो डीआरका लागि डिफेन्डर स्टिभ कापुआडीले गोल गर्ने सुन्दर अवसर गुमाए। खेलको अन्त्यतिर पोर्चुगलका कप्तान रोनाल्डोले पनि गोल गर्ने केही अवसर पाएका थिए, तर उनको प्रहार फ्रेममा पर्न सकेन र खेल १(१ को बराबरीमा सकियो।
प्रकाशित मिति: ४ असार २०८३, बिहिबार











