एक जना विद्यार्थी पनि शैक्षिक अधिकारबाट वञ्चित हुँदैनन्: शिक्षामन्त्री पोखरेल
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्दै लैजान प्रतिबद्ध रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्ना मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्दै लैजाने सरकारको लक्ष्य रहेकोले सोहीअनुसार आगामी आर्थिक वर्षको बजेटमा पनि आवश्यक व्यवस्था मिलाइएको बताएका हुन् ।
मन्त्री पोखरेलले विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षामा लगानी गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिएको स्पष्ट पारे ।
उनले भने- ‘वर्तमान सरकारको शिक्षा तथा स्वास्थ्यमा उल्लेख्य लगानी गर्ने प्रतिबद्धता अनुरूप आगामी आर्थिक वर्षमा शिक्षामा लगानी वृद्धि गर्दै लगिनेछ । विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षामा लगानी गर्नका लागि स्मार्ट बोर्डको व्यवस्थापन, आधारभूत तहको सिकाई उपलब्धिमा वृद्धि गर्नका लागि फाउन्डेशन लर्निङसँग सम्बन्धी क्रियाकलाप र शिक्षाको क्षमता विकासका लागि समेत बजेट विनियोजन गरिएको छ ।’
विद्यालय तहदेखि नै स्मार्ट बोर्डको व्यवस्थापन, आधारभूत तहको सिकाई उपलब्धिमा वृद्धि गर्नका लागि फाउन्डेशन लर्निङसँग सम्बन्धी क्रियाकलाप र शिक्षाको क्षमता विकासका लागि समेत बजेट विनियोजन गरिएको मन्त्री पोखरेलको भनाई थियो ।
यस्तै मन्त्री पोखरेलले सरकारले एकजना विद्यार्थीको पनि शैक्षिक अधिकार वञ्चित नगर्ने बताए ।
सांसदहरुले भौगोलिक दुरी, विद्यार्थीको संख्याको आधारमा विद्यालय गाभ्ने, तह घटाउने लगायत विषय उठाएका थिए ।
सोही विषयमा जवाफ दिँदै मन्त्री पोखरलेले न्यून विद्यार्थी भएकै आधारमा विद्यालयलाई गाभेर एउटा पनि विद्यार्थीकै शैक्षिक अधिकारबाट सरकारले वञ्चित नगर्ने बताए।
आगामी वर्षका लागि विद्यालय पूर्वाधारमा १० अर्ब ४५ करोड २४ लाख ४ हजार विनियोजन गरिएको छ ।
प्रकाशित मिति: ४ असार २०८३, बिहिबार












