आफ्नै पार्टीकाले गल्ती गरेपनि छोड्दिन: गृहमन्त्री गुरुङ



काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सरकारले गलत गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाबारे जवाफ दिँदै उनले यस्तो भनेका हुन् ।

अपराध नियन्त्रणदेखि आम नागरिकका सेवाका विषयमा गलत गर्ने आफ्नै पार्टीका भएपनि नछाड्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको उनले बताए ।

उनले भने- ‘सेवा नै हाम्रो धर्म हो ।अपराध नियन्त्रणदेखि लिएर नागरिकको सेवामा खट्ने विषयमा सुरक्षा निकायहरूलाई निर्मम रूपमा प्रस्तुत हुन् हिजै निर्देशन दिइसके । गलत गर्ने आफ्नो र अर्काको पार्टी भनेर हामीले हेर्दैनौँ । गलतलाई गलत नै भन्छौँ ।’

यसैगरी गृहमन्त्री गुरुङले आफू नेतृत्वमा आएपछि सुरक्षा निकायमा राजनीतिक दबाब र चलखेल अन्त्य भएको दाबी गरेका छन्।

यसैबीच गुरुङले विपद् व्यवस्थापनको तयारीमा सरकार लागिसकेको बताएका छन् ।

उनले थप भने- ‘विपद् व्यवस्थापनमा सरकारले आवश्यक तयारी गरिसक्यो, डिजिटल प्रणालीको पनि विकास गरेका छौँ।’

उनका अनुसार बाढी-पहिरो जस्ता विपद्का बेला तत्काल सडक खुलाउन आवश्यक उपकरण कहाँ छन् भन्ने जानकारी दिने डिजिटल प्रणाली विकास गरिएको छ ।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्