अख्तियारले आरजुलाई दिएको समय सकियो, अब कसरी अघि बढ्छ अनुसन्धान ?
काठमाडौँ । राहदानी छपाइमा भएको अनियमितताबारे बयानमा आउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेतृ आरजु राणा देउवालाई दिएको म्याद पूरा भएको छ । अख्तियारले असार २ मा पूर्व परराष्ट्रमन्त्री समेत रहेकी देउवाको बुढानीलकण्ठस्थित घर ठेगानामा म्याद टाँस गरेको थियो ।
म्याद टाँस गरेपछि आरजुले अख्तियारमा इमेल गरेकी छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठेगानामा इमेल गर्दै भनेकी छन्, ‘म विदेशमा छु, ३ दिनभित्र आउन सक्दिनँ ।’
आरजुको इमेल पाएपछि आयोगका अनुसन्धान अधिकृतहरूले भर्चुअल माध्यमबाट बयान लिने प्रयास गरिरहेका छन् । इमेलमा प्रश्न पठाएर बयान लिने सकिने विकल्पमा छलफल भइरहेको अख्तियारका एक जना उच्च अधिकृतले बताए ।
बयान गराउन सम्भव नभए उनले पठाएको इमेलको विवरण मिसिलमा राखेर विशेष अदालतमा अभियोग दायर गर्ने अख्तियारको तयारी छ । आयोगका एक जना उच्च अधिकृत भन्छन्, ‘बयान हुन नसके पनि उहाँलाई फरार प्रतिवादी कायम गरेर अभियोग दायर गर्नेगरी अनुसन्धान अघि बढेको छ ।’
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
अख्तियारसँग अर्को विकल्प पनि छ । विशेष अदालतबाट अनुमति लिएर आयोगले प्रहरी प्रधान कार्यालयमार्फत अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गर्न पत्राचार गर्न सक्छ । चार जना सहसचिवले नेतृत्व गरेको टिमले राहदानी छपाइमा भएको अनियमिताबारे अनुसन्धान गरिरहेका छन् । आगामी साता नै मुद्दा अदालतमा लैजानेगरी अनुसन्धान भइरहेको आयोग स्रोतले जनाएको छ ।
छपाई प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र मुल्हबाउरका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल पनि अनुसन्धानमा तानिएका छन् । अख्तियारले मुनिन्द्रराज मल्ल, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र विभागको सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी र विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई पक्राउ गरेको छ ।
राहदानी खरिदमा तत्कालीन परराष्ट्रमन्त्री आरजुको प्रभावमा परेर करिब ८ अर्ब रुपैयाँ अनियमितता भएको आयोगको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार












