रास्वपा महाधिवेशन : प्रस्तावक–समर्थक बनेका व्यक्तिले उम्मेदवारी दिन नपाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा उम्मेदवारी प्रक्रियालाई लिएर नयाँ प्रावधान लागू गरिएको छ ।
निर्वाचन आयोगले उम्मेदवारका प्रस्तावक वा समर्थक बनेका व्यक्तिले कुनै पनि पदमा उम्मेदवारी दिन नपाउने व्यवस्था गरेको हो ।
पार्टीको केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जारी गरेको सूचनाअनुसार, एक उम्मेदवारको प्रस्तावक वा समर्थक बनेका व्यक्तिहरू सोही महाधिवेशनमा उम्मेदवार बन्न अयोग्य हुनेछन्।
महाधिवेशनमा सभापति पदका लागि एक जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक पर्नेछ। त्यसैगरी पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि १ प्रस्तावक र २१ समर्थक अनिवार्य गरिएको छ।
निर्वाचन प्रक्रियाअनुसार उम्मेदवारहरूले प्रस्तावक र समर्थकहरूको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षरसहित मनोनयन फाराम बुझाउनुपर्नेछ।
त्यसैगरी सभापति पदका लागि रु ५१ हजार तथा पदाधिकारी र केन्द्रीय सदस्यका लागि रु २१ हजार शुल्क तोकिएको छ।
निर्वाचन आयोगले एक व्यक्तिले एकभन्दा बढी उम्मेदवारको प्रस्तावक बन्न नपाउने स्पष्ट पारेको छ। तर समर्थक भने एकभन्दा बढी उम्मेदवारका लागि हस्ताक्षर गर्न पाउने व्यवस्था गरिएको छ।
सूचनामा भनिएको छ, ‘कुनै पनि पदका उम्मेदवारका प्रस्तावक वा समर्थक स्वयम् उम्मेदवार बन्न पाइने छैन।’ यस्तो नियम उल्लंघन गरी पेश गरिएका मनोनयन स्वतः अमान्य हुने आयोगले जनाएको छ।
प्रकाशित मिति: ९ असार २०८३, मंगलबार












