महाधिवेशन नसकी काठमाडौं फर्किए प्रधानमन्त्री बालेन
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम प्रधानमन्त्री बालेन्द्र शाह महाधिवेशन नसकी काठमाडौं फर्किएका छन्।
चितवनमा जारी पार्टीको प्रथम महाधिवेशन बीचमै छाडेर आज बिहान ११ बजेतिर भरतपुरबाट बुद्ध एयरको जहाज चढेर आफ्नो टोलीसहित काठमाडौं फर्किएका हुन् ।
गत आइतबार पत्नी र छोरीसमेत लिएर यहाँ आएका बालेनले महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेका थिए ।
तर, पहिला बन्दसत्रमा सहभागी नभएका बालेनले पछि रवि लामिछानेलाई सभापतिमा समर्थन गरेका थिए ।
सभापति पदमा अरू कसैले उम्मेदवारी नदिएपछि लामिछाने मंगलबारै निर्विरोध निर्वाचित भइसकेका छन्।
बालेनले आज बिहान मात्रै चितवनको लटौली सेन्चुरी रिसोर्टमा बसेको श्रीमती सविना र छोरीसहितको फोटो फेसबुकमा पोस्ट गरेका छन् ।
फेसबुकमा पोस्टको क्यापसनमा बालेनले ‘भिजिट चितवन, न्यानो ठाउँ’ लेखेका छन्।
महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि आज मतदान गर्ने तयारी छ । महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको उम्मेदवारको ‘स्क्रिनिङ’ जारी छ।
महाधिवशेनमा ९९ केन्द्रीय सदस्यका लागि ३७० भन्दा बढीको उम्मेदवारी परेको छ। मतदानका लागि ८० वटा विद्युतीय उपकरण तयारी अवस्थामा राखिएका छन् भने नमुना मतदानका निम्ति पाँच वटा उपकरण प्रयोग गरिनेछ।
प्रकाशित मिति: १० असार २०८३, बुधबार












