रास्वपा महाधिवेशन : विदेशमा भएकालाई मोबाइलबाटै मतदान गर्ने व्यवस्था, ८० वटा भोटिङ मेसिन तयारी अवस्थामा



काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनमा विदेशमा रहेका प्रतिनिधिहरुले उतैबाट मतदान गर्न पाउने भएका छन् ।

विदेश स्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेकाहरुलाई मोबाइल एपबाटै मतदान गर्ने व्यवस्था गरिएको हो ।

विदेशबाट १६३ प्रतिनिधि रहेका छन् । उनीहरु मध्ये महाधिवेशनमा उपस्थित हुन नसकेकालाई मोबाइलबाटै मतदानको व्यवस्था गरिएको रास्वपाले जनाएको छ ।

महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरुले भने विद्युतीय मेसिनबाट मतदान गर्नेछन् ।

रास्वपा महाधिवेशनमा करिब ४ हजार प्रतिनिधिहरु छन् । उनीहरुले इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गर्ने छन् । भोटिङका लागि करिब ८० वटा मेसिन तयारी अवस्थामा राखिएको छ ।

महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको अन्तिम तयारी भइरहेको छ । उम्मेदवारहरु अहिले चुनाव प्रचारमा व्यस्त छन् ।

गएराति अबेरसम्म चलेको मनोनयन दर्ता प्रक्रियामा करिब ४०० जनाले मनोनयन गराएका थिए । रास्वपाको विधान अनुसार ९९ केन्द्रीय सदस्य निर्वाचनबाट चुनिनेछन् भने ५१ केन्द्रीय सदस्य सभापतिबाट मनोननीत हुनेछन् ।

सभापति पदमा रवि लामिछानेको मात्र उम्मेदवारी दर्ता भएकाले उनी निर्विरोध निर्वाचित भइसकेका छन् । केन्द्रीय सदस्य चयन भइसकेपछि १९ सदस्यीय पदाधिकारीको निर्वाचन हुने रास्वपा विधानमा उल्लेख छ ।

अहिले केन्द्रीय सदस्यका उम्मेदवार र उनीहरुका समर्थकहरु प्रचार सामग्रीहरु बोकेर भोट मागिरहेका छन् । निर्वाचन स्थल वरपर कागजी प्रचार सामग्रीहरु छरपस्ट देखिन्छन् ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ । ९ गते नै महाधिवेशन सक्ने भनिए पनि प्राविधिक समस्याका कारण प्रतिनिधि टुंगो लगाउन ढिलाइ हुँदा महाधिवेशन लम्बिएको छ ।

आइतबारदेखि सुरू भएको महाधिवेशन एक दिन लम्बिँदा बुधबार मात्रै मतदान हुने भएको हो। पहिलो चरणको मतदान सभापति र केन्द्रीय सदस्यका लागि हुने तय थियो।

सभापतिमा रवि लामिछाने निर्विरोध चयन भइसकेका छन्। अब ९९ केन्द्रीय सदस्यका लागि विद्युतीय मेसिनमा भोटिङ हुनेछ।

मतदानका लागि रामलक्ष्मण इनोभेसनको विद्युतीय मेसिन प्रयोग हुनेछ। इनोभेसनका सञ्चालकका अनुसार मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग हुनेछन्।

ती सबै मेसिनहरू तयारी अवस्थामा राखिएका छन्। उम्मेदवारको अन्तिम नामावली दिएपछि भोटिङ मेसिनमा ‘इन्ट्री’ गर्ने काम सुरू हुने कम्पनीले जनाएको छ ।

सामान्यतया इन्ट्री गर्न १५ घन्टा समय लाग्ने भएपनि नाम इन्ट्री बाहेकका सबै प्राविधिक काम सकेर परीक्षण समेत भइसकेको अवस्थामा रास्वपाले नाम उपलब्ध गराएको ६ घन्टामा इन्ट्रीको काम सकिने र त्यसपछि मतदान सुरु हुने इनोभेसनका सञ्चालकले बताएका छन् ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्