सरकार एमालेप्रति पूर्वाग्रह बन्यो : भट्ट



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार आफूमाथि केन्द्रित भएर पूर्वाग्रहपूर्ण ढङ्गले प्रस्तुत भएको निष्कर्ष निकालेको छ।

मंगलबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकपछि उपमहासचिव लेखराज भट्टले सरकारका पछिल्ला गतिविधि एमाले लक्षित र अनुचित रहेको बताए।


बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई गैरकानुनी, प्रतिशोधपूर्ण र पूर्वाग्रही ठहर गरेको छ। सुर्खेतमा आयोजित पार्टीको एक कार्यक्रममा सहभागी पौडेललाई कार्यक्रमस्थलबाटै पक्राउ गरी काठमाडौँ ल्याइएको थियो।
एमालेले जुन निकायको नामबाट पौडेललाई पक्राउ गरिएको हो, त्यो विषय उक्त निकायको कार्यक्षेत्रमै नपर्ने दाबी गरेको छ। सरकारलाई यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी दिँदै एमालेले उपाध्यक्ष पौडेललाई नि:सर्त रिहा गर्न माग गरेको छ।


उपमहासचिव भट्टले भने, ‘उपाध्यक्ष विष्णुप्रसाद पौडेल काठमाडौँ आउने टिकट लिएर आउँदै हुनुहुन्थ्यो। तर, हिजो नै सुर्खेतमा उनलाई गिरफ्तार गरियो। जुन निकायले पक्राउ गर्‍यो, त्यसको कार्यक्षेत्रभित्र यो विषय पर्दैन भन्ने हाम्रो ठहर छ। त्यसैले यो प्रक्रिया कानुनसम्मत छैन।’


अदालतले अनुसन्धानका लागि सात दिनको म्याद थप गर्दै पौडेललाई हिरासतमा राख्न दिएको आदेशसमेत अपेक्षित र न्यायोचित नभएको एमालेको भनाइ छ। भट्टले थपे, ‘पार्टीको हालका लागि एउटै माग छ– उहाँको नि:सर्त रिहाइ हुनुपर्छ। एमालेलाई केन्द्रित गरेर पूर्वाग्रहपूर्ण ढङ्गले गरिएका यस्ता गतिविधिहरू उचित होइनन्।´


एमालेले पौडेल पक्राउको विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएको जनाएको छ। आगामी दिनमा कानुनी लडाइँ लड्ने र त्यसबाहेक आवश्यक अन्य कदमहरूबारे पनि पार्टीले समयानुकूल निर्णय लिने भट्टले जानकारी दिए।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्