आगामी ३/४ दिनभित्र मनसुन देशभर फैलिन्छ : मौसम विभाग
काठमाडौ। आगामी ३/४ दिनभित्र मनसुन देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार ३/४ दिनमा देशका बाँकी स्थान गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा मनसुन विस्तार हुने सम्भावना देखिएको हो।
यस वर्ष सरदर मिति (जुन १३ तारिख) भन्दा ६ दिन ढिला यही असार ५ गते (जुन १९ तारिख) कोसी प्रदेशबाट प्रवेश गरेको मनसुन असार ८ देखि लुम्बिनी प्रदेशसम्म फैलिएको थियो।
मौसम महाशाखाका अनुसार हाल मनसुन हाल कोसी, मधेस र बागमती प्रदेशका सबै भाग, गण्डकी प्रदेशका केही स्थान र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका थोरै ठाउँसम्म फैलिएको छ। देशका बाँकी स्थानमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ।
आज कहाँ, कस्तो छ त वर्षाको सम्भावना?
मौसम महाशाखाका अनुसार आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा भने तातो लहर हुने सम्भावना छ।
यस्तै राति कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थान तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
प्रकाशित मिति: १३ असार २०८३, शनिबार












