भेष बदलेर सीमामा पुगे गृहमन्त्री गुरुङ, पर्सा–बाराका सुरक्षा संयन्त्रमा हलचल
पर्सा । गृहमन्त्री सुदन गुरुङले पर्सा–बाराका सीमा नाकाहरूमा कुनै पूर्वजानकारी नदिई गरेको छड्के अनुगमनले सुरक्षा संयन्त्रमा हलचल मच्चाएको छ ।
भेष बदलेर निजी गाडीमार्फत सीमा क्षेत्रमा पुगेका उनले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै तस्करीको वास्तविक अवस्था बुझेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी भएर शुक्रबार राति चितवनबाट निस्किएका गृहमन्त्री गुरुङ करिब राति ९ बजे पथलैया पुगेका थिए । त्यहाँबाट पूर्व–पश्चिम राजमार्ग हुँदै पिलुवा, बडहर्वा र सिमरा क्षेत्रको भ्रमण गरेका उनले केही स्थानीयसँग अनौपचारिक रूपमा कुराकानी पनि गरेका थिए।
शनिबार बिहान वीरगञ्ज पुगेका उनले तस्करीका लागि संवेदनशील मानिने अलौं र पनटोक्का लगायतका सहायक सीमा नाकाहरूको स्थलगत अनुगमन गरे। स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै उनले साइकल, मोटरसाइकल तथा टाउकोमा बोकेर हुने अवैध सामान ओसारपसारबारे विस्तृत जानकारी लिएका थिए।
अनुगमनका क्रममा स्थानीयले सुरक्षाकर्मीको मिलेमतो र संरक्षणमै दिनदहाडै तस्करी हुने गरेको गुनासो गरेका थिए। सीमा क्षेत्रमा जडान गरिएका सिसी क्यामेराको प्रभावकारी उपयोग नभएको र तिनैको आडमा अवैध कारोबार हुने गरेको आरोप पनि स्थानीयले गृहमन्त्रीसमक्ष राखेका थिए।
गृहमन्त्रीलाई सुरेन्द्र साह नाम गरेका स्थानीयले अहिले पनि भारत तर्फ चारवटा मोटरसाइकलमा तस्करीको सामान लोड गरेर राखिएको र तपाईँहरू हिँडेपछि तस्करीको सामान लोड गरेको मोटरसाइकल भित्रिने गुनासो गरिरहेको भिडियोमा सुन्न सकिन्छ।
सुरेन्द्रको गुनासो सुनेर गृहमन्त्री गुरुङले एक जनालाई भारत तर्फ गएर हेरेर आउन भनेको त्यस भिडियोमा देख्न सकिन्छ।
त्यही स्थानमा रहेका मुकेश साह नाम गरेका अर्का स्थानीयले नाकामा जडान गरिएको सिसी क्यामेराको पोल देखाउँदै त्यसकै आडमा सशस्त्रको डिएसपीले तस्करी गराउने गरिएको गृहमन्त्रीलाई पोल र सिसि क्यामरा देखाउँदै गुनासो गरिरहेको भिडियोमा सुनिन्छ।
साहको कुरा सुनेपछि गृहमन्त्री गुरुङले ‘सिसी क्यामेराको निगरानी कहाँबाट हुन्छ ?’ भनी प्रश्न गरेका थिए। जवाफमा स्थानीयले सशस्त्रको क्याम्प भनि जवाफ दिएका छन्। सिर्सिया नाकालाई सशस्त्र प्रहरीको विओपी ड्राइपोटले हेर्ने गरेको छ।
गृहमन्त्रीले यस सम्पूर्ण भ्रमण स्थानीय सुरक्षा निकायलाई पूर्वसूचना नदिई गरेका थिए। उनी आफ्ना व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) सँग निजी सवारी प्रयोग गर्दै दिनभर पाँचवटा फरक–फरक गाडीमा सीमा क्षेत्र घुमेको र पीएसओको मोबाइलसमेत बन्द रहेको बताइएको छ ।
यद्यपि स्थानीय सुरक्षा निकायले सार्वजनिक स्थलका सिसी क्यामेरा मार्फत उनको गतिविधि पछ्याइरहेको स्रोतले जनाएको छ।
क्याप, मास्क, कालो चश्मा, टिसर्ट र हाफ पाइन्टमा पुगेका गृहमन्त्रीलाई धेरैले सुरुमा चिन्न सकेका थिएनन्। यसले उनको अनुगमन थप गोप्य बनेको थियो।
दिनभरको अनुगमनपछि उनी साँझ सिमरा विमानस्थल पुगेका थिए । त्यहाँ उनले पर्सा र बाराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रमुख अधिकारीलाई बोलाएर सीमाबाट भइरहेको तस्करी तत्काल नियन्त्रण गर्न कडा निर्देशन दिएका थिए ।
प्रकाशित मिति: १४ असार २०८३, आइतबार












