रास्वपा महाधिवेशनबाट पारित भएको प्रस्तावप्रति नेकपाको आपत्ति, भन्यो- प्रदेशको उपस्थिति बिना सङ्घीयता रहँदैन
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रास्वपा महाधिवशेनबाट पारित केहि दस्तावेजले लोकतन्त्रको आधारलाई कमजोर बनाउने खतरा रहेको टिप्पणी गरेका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले रास्वपाको महाधिवशेनमा छलफल नभइ पारित भएको भनिएको केहि दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको टिप्पणी गरेका हुन्।
उनले भने- ‘लोकप्रियताको घुम्टोले छोपिएर आएको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई ‘सेबोटेज’ गर्न खोज्दैछ, यसमा हामी सचेत हुनुपर्छ । प्रदेशको उपस्थिति बिना सङ्घीयता रहँदैन भन्ने आधारभूत ज्ञान नहुनेले राजनीति पढेर मात्र राजनीति गर्न आउनुस्।’
दुलालले निर्वाचनका क्रममा प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउछु भन्ने रास्वपाले जनताको मत पाएपछि अहिले तिनै संरचनालाई खारेज गर्छु भन्नु जनतामाथिको बेइमानी र धोका भएको बताए।
साथै, लोकप्रियताको घुम्टोले जितेको शक्तिले गणतन्त्रको संरचनालाई जिस्काई–जिस्काई कपट र षड्यन्त्रप्रति नेकपा गम्भीर र सचेत रहेको उनको भनाई छ ।
प्रकाशित मिति: १४ असार २०८३, आइतबार












