धान दिवसमा प्रचण्डको सरकारलाई आग्रह – किसानले मल–बीउ सहज पाउने वातावरण बनाऊ



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किसानका आधारभूत समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ का अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको उल्लेख गर्दै श्रमजीवी किसानहरूको मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा तथा समृद्धिको आधार निर्माण हुने बताएका छन्।

प्रचण्डले रोपाइँको मुख्य समयमा पनि किसानहरूले मल, बीउबिजन, सिँचाइ तथा अन्य आवश्यक कृषि सामग्री सहज रूपमा प्राप्त गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरे।

उनले भने, “रोपाइँको यो मुख्य समयमा पनि किसानहरूले सहज रूपमा मल, बीउबिजन, सिँचाइ र आवश्यक कृषि सामग्री पाउन सकेका छैनन्। त्यसैले किसानमैत्री नीति तथा कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा विशेष गम्भीरता देखाउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।”

प्रचण्डले कृषि क्षेत्रको विकास र किसानको सम्मानलाई प्राथमिकतामा राख्दै उत्पादन वृद्धि गर्ने नयाँ संकल्पका साथ अघि बढ्न राष्ट्रिय धान दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

सन्देशको अन्त्यमा उनले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, समृद्धि र सफल खेतीपातीको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: १५ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्