धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्टले लिए शपथ



काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

शपथपछि अर्थमन्त्री डा.वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न पनि निर्देशन दिएका छन् ।

कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि उनले अध्यक्ष भट्टलाई निर्देशन दिए ।

अर्थमन्त्री वाग्लेले भने- ‘कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस् । म साथमा छु । सरकारले सबै खाले सहयोग गर्छ । पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस् ।’

यसैगरी कार्यक्रममा बोल्दै नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीज्यूको योजनाअनुसार पुँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताए।

पुँजीबजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: १५ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्