कैलाश मानसरोवर यात्रामा निस्केका भारतीय तीर्थयात्री नेपालमै अलपत्र, भारतद्वारा यात्रा चेतावनी जारी
एजेन्सी। भारत सरकारले निजी टुर अपरेटरमार्फत कैलाश मानसरोवर यात्रा गर्ने आफ्ना नागरिकका लागि यात्रा चेतावनी जारी गरेको छ।
आवश्यक कागजातबिना कैलाश मानसरोवर यात्रा सुरु गर्दा केही भारतीय तीर्थयात्री नेपालमै रोकिएपछि भारत सरकारले आफ्ना नागरिकलाई यात्रा चेतावनी जारी गरेको हो।
भारतको विदेश मन्त्रालयका अनुसार निजी टुर अपरेटरमार्फत यात्रा गरेका केही यात्रुहरू चीन प्रवेशका लागि आवश्यक भिसा र परमिट नहुँदा नेपालबाट अगाडि जान नसकेर अलपत्र परेका छन्। उनीहरूले उद्धार र सहयोगका लागि दूतावास तथा सम्बन्धित निकायसँग सम्पर्क गरेका थिए।
मन्त्रालयले कैलाश मानसरोवर यात्रा गर्नुअघि चीन प्रवेशका लागि आवश्यक सबै अनुमति, भिसा र अन्य कागजात सुनिश्चित गर्न यात्रुहरूलाई आग्रह गरेको छ।
यसैगरी यात्रा प्याकेज खरिद गर्नुअघि टुर अपरेटर कानुनी रूपमा दर्ता भएको र विश्वसनीय रहेको पुष्टि गर्न पनि भारत सरकारले सुझाव दिएको छ।
साथै आवश्यक तयारी नगरी यात्रा गर्दा यात्रुहरू आर्थिक तथा प्रशासनिक समस्यामा पर्न सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ।
प्रकाशित मिति: १५ असार २०८३, सोमबार












