गभर्नरलाई हटाउने ट्रम्पको निर्णयमा सर्वोच्चको रोक, तर बढायो राष्ट्रपतिको अधिकार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ (केन्द्रीय बैंक)की गभर्नर लिसा कुकलाई हटाउने निर्णयलाई सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
सोमबार सर्वोच्चका बहुमत न्यायाधीशहरूले तत्काललाई कुकलाई हटाउने ट्रम्पको निर्णयमा रोक लगाएको हो। योसँगै फेडरल रिजर्भको लामो समयदेखि कायम रहेको स्वतन्त्रतालाई जोगाएको रोयटर्सले जनाएको छ।
ट्रम्पले कुकमाथि ‘मोर्गेज फ्रड’ गरेको आरोप लगाउँदै हटाउने निर्णय गरेका थिए। उक्त आरोप अस्वीकार गर्दै कुकले सर्वोच्चमा मुद्दा लडेकी हुन्।
५ जना न्यायाधीशले ट्रम्पको निर्णयलाई रोक्ने पक्षमा राय दिँदा चार जनाले विपक्षमा दिएका हुन्। यस आदेशले स्वतन्त्र निकाय फेडरल रिजर्भका अधिकारीलाई हटाउन रोक्दै सुरक्षा त प्रदान गर्यो।
तर सर्वोच्चले ९१ वर्ष पुरानो नजिरलाई उल्ट्याएर राष्ट्रपतिको अधिकारलाई विस्तार गरेको रोयटर्सले जनाएको छ। ट्रम्पले डमेक्रेटिक फेडरल ट्रेड कमिशनकी सदस्य रेबेका स्लटरलाई हटाएकी थिइन्।
उनको मुद्दामा भने सर्वोच्चले सन् १९३५मा गरेको एक फैसलाले राष्ट्रपतिले बिनाकारण संघीय सरकारका निकायका प्रमुखहरूलाई हटाउन नमिल्ने स्थापित नजिरलाई उल्ट्याएको हो। स्लटरलाई हटाउने ट्रम्पको निर्णय पनि ६ जना न्यायाधीशहरूले समर्थन गरेका हुन्। तीन जना न्यायाधीश भने विपक्षमा उभिए।
सन् १९१३ मा फेडरल रिजर्भ स्थापना भएयता कुनै पनि अमेरिकी राष्ट्रपतिले गभर्नरलाई पदबाट हटाउने प्रयास गरेका थिएनन्। दोस्रो कार्यकालमा ट्रम्पले राष्ट्रपतिको अधिकारको सीमा परीक्षण गर्ने विभिन्न कदमहरू चालिरहेका छन्।
यो फैसला पछि ट्रम्पले प्रतिक्रिया समेत जनाइसकेका छन्। उनले ट्रुथ सोसियलमा लेखेका छन्, ‘फेडरल रिजर्भ बोर्डमा लिसा कुक बस्न योग्य छिन् वा छैनन् भन्ने विषयसँग सम्बन्धित मुद्दालाई सर्वोच्चले प्रक्रियागत आधारमा मात्रै फिर्ता पठाएको हो। कानुन विपरित काम गरेको व्यक्तिले अमेरिकाको हितसँग सम्बन्धित महत्वपूर्ण निर्णय गर्न नपाओस् भन्ने सुनिश्चितता गर्न हामी तुरून्तै आवश्यक कानुनी प्रक्रिया अघि बढाउँछौं।’
कुकले पनि सर्वोच्चको निर्णयलाई स्वागत गर्दै आफूले अमेरिकी जनताको हितमा काम गरेकाले झुट्टा आरोप लगाएको बताएकी छिन्।
‘यो विषय म गभर्नर बन्नुअघि मोर्गेज सम्बन्धी कागजातमा हस्ताक्षर गरेको विषय कहिल्यै थिएन। मैले राजनीतिक दबाबमा नझुकी अमेरिकी जनताको हितलाई मात्र ध्यानमा राखेर ब्याजदर निर्धारण गरिरहेकाले मलाई झुट्टा बहाना बनाएर हटाउने प्रयास गरिएको हो,’ उनले भनिन्।
लिसा कुकलाई पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले फेडरल रिजर्भ बोर्ड अफ गभर्नरको सदस्यको रूपमा नियुक्त गरेका थिए। उनको १४ वर्षे कार्यकाल सन् २०३८मा समाप्त हुन्छ। कुक फेडरल रिजर्भको बोर्डमा नियुक्त हुने पहिलो अश्वेत महिला हुन्।
प्रकाशित मिति: १६ असार २०८३, मंगलबार












