पाकिस्तानले अफगानीस्तानमाथि गरेको आक्रमणप्रति भारतको निन्दा



काठमाडौँ । भारतले अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणको निन्दा गर्दै ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

भारतले पाकिस्तानको कदमलाई अफगानिस्तानको सार्वभौमिकतामाथिको खुला आक्रमण भएको भन्दै यसले क्षेत्रीय शान्ति र स्थिरतामा प्रत्यक्ष खतरा उत्पन्न गरेको जनाएको छ ।

‘अफगानिस्तानको भूमिमा पाकिस्तानले गरेको हवाई आक्रमणको भारत कडा निन्दा गर्दछ,’ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त आक्रमणमा महिला र बालबालिकासहित धेरै निर्दोष नागरिकको मृत्यु भएको छ ।’

विदेश मन्त्रालयले पाकिस्तानको कदमले उसको ‘लापरवाह व्यवहार’ झल्काउने र आफ्ना ‘आन्तरिक असफलताबाट ध्यान मोड्न’ यस्ता गतिविधिको सहारा लिने गरेको आरोप पनि लगाएको छ ।

भारतले अफगानिस्तानको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति आफ्नो अटल समर्थन पुनः दोहो¥याएको छ ।

यसअघि पाकिस्तानले आइतबार र सोमबार मध्यरातमा अफगानिस्तानभित्र स्थल तथा हवाई सैन्य अभियान सञ्चालन गरेको जनाएको थियो । पाकिस्तान सरकारका अनुसार ती कारबाहीमा २९ जना चरमपन्थी मारिएका छन् ।

तर, अफगानिस्तानको तालिबान सरकारले भने ती आक्रमणमा बालबालिका र महिलासहित दर्जनौं सर्वसाधारण नागरिकको मृत्यु भएको दाबी गरेको छ ।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्