पार्टी एकताको भ्रममा नपर्नुस्, संयुक्त संघर्ष आवश्यक छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल कुनै पनि राजनीतिक दलसँग पार्टी एकताको सम्भावना नरहेको स्पष्ट गर्दै नेता–कार्यकर्तालाई त्यसबारे भ्रममा नपर्न आग्रह गरेका छन् ।
उनले लोकतन्त्रमाथि भएको हस्तक्षेपको प्रतिवाद गर्न भने लोकतन्त्रवादी, वामपन्थी र देशभक्त शक्तिबीच कार्यगत एकतासहित संयुक्त संघर्ष आवश्यक रहेको बताएका छन्।
राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै ओलीले एमालेले समूहगत वा संस्थागत पार्टी एकताको नीति नलिएको स्पष्ट पारे।
उनका अनुसार अन्य दल वा समूहबाट आउने व्यक्ति तथा समूहलाई भने पार्टीमा प्रवेश गराएर उदारतापूर्वक समेटिनेछ।
‘पार्टी एकतामा पवित्रता हुनुपर्छ,’ उनले भने, ‘विगतमा एकताका नाममा स्वार्थ, गठजोड र दाउपेच बढी देखिए, त्यसैले अहिले त्यस्तो बाटोमा एमाले जाँदैन।’
ओलीले गत फागुन २१ गते सम्पन्न निर्वाचनलाई २०८२ भदौ २३ र २४ गते भएका घटनालाई वैधानिकता दिन मञ्चन गरिएको ‘नाटक’को संज्ञा दिए।
प्रकाशित मिति: १६ असार २०८३, मंगलबार












