राहदानी खरिद प्रकरणमा जर्मनीको स्पष्टीकरण : कुनै विरोध पत्र वा चेतावनी दिइएको छैन



काठमाडौँ । काठमाडौँस्थित जर्मन दूतावासले नेपालको राहदानी खरिद प्रकरण र त्यसपछि विकसित घटनाक्रमबारे सञ्चारमाध्यममा आएका समाचारहरूको खण्डन गर्दै स्पष्टीकरण जारी गरेको छ ।

दूतावासले यस विषयमा आएका थुप्रै रिपोर्टहरू गलत र भ्रामक रहेको बताएको हो । जर्मन दूतावासका अनुसार बर्लिनस्थित नेपालका कार्यवाहक राजदूतलाई जर्मनीको सङ्घीय परराष्ट्र मन्त्रालयमा बैठकका लागि आमन्त्रण मात्र गरिएको थियो । स्पष्टीकरणका लागि ‘सोधपुछ’ नगरिएको दूतावासको भनाई छ । दूतावासले कूटनीतिमा यो सानो भिन्नता सुनिए पनि यसको ठुलो अर्थ र महत्त्व रहने स्पष्ट पारेको छ ।

यसैगरी उक्त बैठकका क्रममा जर्मनीको तर्फबाट नेपाललाई कुनै पनि विरोध पत्र वा अन्य कस्ता खालका कागजातहरू हस्तान्तरण नगरिएको दूतावासले जनाएको छ । राहदानी खरिदको कानुनी प्रक्रिया वा अदालतमा चलिरहेको मुद्दाको परिणामलाई लिएर हुनसक्ने सम्भावित परिणाम वा चेतावनीका बारेमा समेत कुनै कुरा नभएको जर्मन पक्षको भनाइ छ ।

दूतावासले न्यायपालिकाको स्वतन्त्रताको जर्मनी सधैँ पूर्ण सम्मान गर्ने उल्लेख गर्दै यो विषय आफ्नो देशको संविधानमै समेटिएको सिद्धान्त भएको प्रस्ट पारेको छ ।

आफ्नो स्थापित मान्यता अनुसार अदालतमा विचाराधीन रहेका मुद्दाहरूका बारेमा दूतावासले कुनै टिप्पणी नगर्ने र यस प्रकरणमा पनि हालसम्म कतै पनि कुनै टिप्पणी नगरिएको दूतावासले उल्लेख गरेको छ ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्