डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा महिलाको मृत्यु, चार घाइते



काठमाडौँ। डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलो सहितको बाढीमा पुरिँदा एक महिलाको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन् ।

आइतबार बिहान करिब ०३ः०० बजे आएको बाढी घरहरूमा पस्दा स्थानीय अन्दाजी ५५-५६ वर्षीया आनन्दा विक घरभित्र सुतिरहेको अवस्थामा पुरिएकी थिइन् । प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा मृत्यु भएको हो ।

घटनामा ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते भएका छन् । घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि रिफर गरिएको छ भने अन्य तीन जना उपचारपछि डिस्चार्ज भएका छन् । मृतकको आफन्त ३२ वर्षीया जुनमाया विक र २९ वर्षीय दुर्गे विक घटनाको तनावका कारण बेहोस भएपछि स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रारम्भिक विवरणअनुसार बाढीबाट एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माझगाउँ, जिल्ला प्रहरी कार्यालय डोल्पा, इलाका प्रहरी कार्यालय काइगाउँ, अस्थायी प्रहरी पोस्ट हुरिकोट तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली घटनास्थलमा खटिएको छ । प्रहरीले बाढीबाट भएको थप क्षतिको विवरण सङ्कलन तथा घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्