कैलालीमा प्रहरी हिरासतबाट थुनुवा फरार, डिउटीमा खटिएका प्रहरी जवान निलम्बित



धनगढी । कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट आइतबार राति भागेका लागूऔषध मुद्दाका थुनुवा संजय नगार्जी अझै पक्राउ पर्न सकेका छैनन् ।

आइतबार राति टीकापुर नगरपालिका–१ का ३१ वर्षीय संजय नगार्जी हिरासतबाट भागेका थिए । तर, हालसम्म उनी पक्राउ पर्न नसकेका हुन् ।

फरार थुनुवाको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।

नगार्जी असार ९ गते लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थिए र अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नगार्जीले पानी खाने बहाना बनाएर हिरासतबाट बाहिर निस्कने क्रममा ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई धकेल्दै भागेका थिए ।

यसैबीच फरार अभियुक्तको खोजीका साथै घटनाको आन्तरिक छानबिन पनि सुरु गरेको छ । जसका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

उक्त समितिले यसबारे छानबिन गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै थुनुवा भाग्ने बेला डिउटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई निलम्बन गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्