कटुवा पेस्तोलसहित एक जना पक्राउ
रौतहट। रौतहटको गरुडा नगरपालिका-५ झाझपुलस्थित मदिरा पसलबाट एक राउण्ड गोली लोड रहेको कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गरुडा नगरपालिका–९ बिर्ता बस्ने अन्दाजी ४२ वर्षीय सदरे आलम रहेका छन् ।
अनुसन्धानको क्रममा सोमबार पक्राउ परेका आलमसँग सोधपुछ गर्दा उनले सोही मदिरा पसलको पछाडिको खेतमा गोली तथा नगद रुपैयाँ लुका-छिपाई राखेको खुल्न आएको थियो ।
आलमलाई साथमा लिई उक्त स्थानमा खानतलासी गर्दा कटुवा पेस्तोलमा प्रयोग हुने लाइभ राउण्ड गोली ४-चार-थान, ब्ल्यांक राउण्ड १ (एक) थान, कालो रङको पर्सभित्र भारतीय रुपैयाँ २४ हजार पाँच सय , नेपाली रुपैयाँ ३२ हजार पाँच सय तथा नाइट्राभेट ट्याबलेट २ दुई पिस बरामद भएको हो ।
आलममाथि आवश्यक कारबाही र घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको रौतहट प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २३ असार २०८३, मंगलबार












