अमेरिकाले इरानी तेलमाथि पुनः प्रतिबन्ध लगाउनुको अर्थ के हो ?
वासिङ्टन डिसी । अमेरिकाले इरानी तेल बिक्रीमाथिको प्रतिबन्ध पुनः लागू गरेपछि इरानलाई ठुलो आर्थिक धक्का लागेको विश्लेषकहरूले बताएका छन् । लामो समयदेखिका अमेरिकी प्रतिबन्धपछि आर्थिक राहतको अपेक्षा गरेको तेहरानका लागि यो निर्णय ठुलो झट्का मानिएको छ ।
यसअघि अमेरिकाले अस्थायी रूपमा विदेशी लगानीकर्ताहरूलाई इरानी तेल खरिद गर्न छुट लागू गरेको थियो । उक्त व्यवस्थाअन्तर्गत इरानको तेल किन्ने विदेशी कम्पनी वा लगानीकर्तामाथि अमेरिकी कारबाही नहुने प्रावधान थियो ।
यो छुट जुनमा भएको ६० दिने समझदारीपत्र (एमओयू)को सबैभन्दा महत्त्वपूर्ण व्यवस्था मानिएको थियो । त्यसबापत इरानले स्टे«ट अफ होर्मुज पुनः खुला गर्ने सहमति जनाएको थियो । यही प्रावधानले इरानलाई तत्काल आर्थिक लाभ दिने अपेक्षा गरिएको थियो । तर अमेरिकाले उक्त छुट रद्द गर्दै पुनः प्रतिबन्ध लागू गरेपछि इरानको प्रमुख आम्दानीको स्रोत प्रभावित हुने भएको छ ।
ब्रसेल्सस्थित थिंक ट्यांक ब्रुगेलका वरिष्ठ अनुसन्धानकर्ता सिमोने टालियापिएत्राका अनुसार यो निर्णय इरानका लागि गम्भीर आर्थिक झट्का हो । उनका अनुसार तेल निर्यात इरानको विदेशी मुद्राको प्रमुख स्रोत हो । यही आम्दानीबाट सरकारी खर्च धानिने, आयातका लागि भुक्तानी गरिने र लामो समयदेखिका प्रतिबन्धका कारण कमजोर बनेको अर्थतन्त्रलाई टिकाइराख्न सहयोग पुग्ने गरेको छ ।
अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए)का तथ्यांकअनुसार इरानको करिब ५० प्रतिशत सरकारी राजस्व तेल बिक्रीबाट आउने गर्छ । हाल इरानी तेलको सबैभन्दा ठुलो खरिदकर्ता चीन भए पनि इरानले अन्य देशहरूमा पनि आफ्नो बजार विस्तार गर्ने योजना बनाएको थियो । ऊर्जा विश्लेषण कम्पनी क्प्लरका वरिष्ठ विश्लेषक नवीन दासले अमेरिकाको निर्णयले इरानलाई अप्रत्याशित झट्का दिएको बताएका छन् । उनका अनुसार इरानले फेरि धेरै देशहरूलाई तेल बिक्री गर्ने तयारी गरिरहेको बेला प्रतिबन्ध पुनः लागू भएको हो ।
विश्लेषकहरूका अनुसार पुनः लागू गरिएको प्रतिबन्धले विश्व तेल बजारमा तत्काल ठुलो असर नगर्न सक्छ । तर सबैभन्दा ठुलो चिन्ता स्ट्रेट अफ होर्मुजको अवस्थालाई लिएर रहेको छ । दासका अनुसार होर्मुजमाथिको नियन्त्रण अमेरिकाले इरानमाथि दबाब सिर्जना गर्न प्रयोग गरेको सबैभन्दा प्रभावकारी रणनीति बनेको छ । उनका अनुसार यसले इरानबाट तेल बोकेका जहाजहरूको आवतजावत लगभग पूर्ण रूपमा रोकिदिएको थियो ।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार










