सोनीको अलराउन्ड प्रदर्शनमा हङकङमाथि नेपालको १८१ रनको फराकिलो जित



काठमाडौं । कप्तान सोनी पाख्रिनको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपालले एसिसी महिला यू–१९ प्रिमियर कपमा हङकङलाई १८१ रनले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ। यससँगै नेपाल समूह ‘डी’ को विजेताका रूपमा क्वाटरफाइनलमा पुगेको छ।

मंगलबार मलेसियाको बायोमास ओभलमा भएको समूह ‘डी’अन्तर्गतको आफ्नो अन्तिम खेलमा २१२ रनको लक्ष्य पछ्याएको हङकङ २० ओभरमा ९ विकेट गुमाएर ३९ रनमै समेटियो। हङकङका लागि वोङ विङले सर्वाधिक १३ रन बनाइन् भने अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालको बलिङमा कप्तान सोनी चम्किइन्। उनले चार ओभरमा केवल चार रन खर्चेर चार विकेट लिइन्। मनिषा उपाध्यायले दुई विकेट हात पार्दा अन्य बलरले पनि प्रभावकारी प्रदर्शन गरे।

यसअघि टस जितेर फिल्डिङ रोजेको हङकङविरुद्ध नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २११ रनको विशाल योगफल तयार गरेको थियो।

नेपालको इनिङ्समा ओपनर साना प्रवीण ४ रनमै आउट भए पनि त्यसपछि सावित्री धामी र सोनी पाख्रिनले दोस्रो विकेटका लागि १३६ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए।

सावित्रीले ५२ रनको योगदान दिँदै प्रतियोगितामा लगातार तेस्रो अर्धशतक पूरा गरिन्। यसअघि उनले कतार र सिंगापुरविरुद्ध पनि अर्धशतक प्रहार गरेकी थिइन्।

कप्तान सोनी भने शतकबाट १० रनले चुकिन्। उनले ६० बलमा १३ चौका र एक छक्काको मद्दतमा ९० रन बनाइन्। अलिसा कुमारी यादव १२ बलमा २३ रन जोड्दै अविजित रहिन्।

हङकङका निम्ब्रा अरबले दुई विकेट लिँदा आर्जु फतिमा र वोङ विङले एक–एक विकेट लिए।

नेपालले यसअघि समूह चरणमा कतारलाई १०५ रन र सिंगापुरलाई १५१ रनले हराउँदै विजयी यात्रा कायम राखेको थियो।

प्रकाशित मिति: ३० असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्