कांग्रेस संसदीय दलका नेताले भने–गाडीले गेट त छेकिएला, तर जनआवाज छेक्न सकिँदैन



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विभिन्न सञ्चारगृह तथा कांग्रेस सभापति गगन थापाको घर अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस घटनालाई सरकारको आलोचना सहन नसक्ने प्रवृत्तिसँग जोड्दै लोकतन्त्रमा आलोचना सहन सक्ने क्षमता नै सरकारको सबैभन्दा ठूलो शक्ति हुने बताएका छन् ।

उनले लेखेका छन्–लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता हो । तर, जब सरकार आलोचनाबाट डराउन थाल्छ, तब उसले प्रश्न गर्नेहरूलाई नै निशाना बनाउन खोज्छ ।’

आङ्देम्बेले गेट अगाडि गाडी पार्क गर्ने कार्यको उद्देश्य स्वतन्त्र प्रेस र प्रतिपक्षलाई दबाबमा पार्नु भएको पनि बताएका छन् ।
उनले अगाडि भनेका छन्–‘गेटअगाडि गाडी राखिएको घटना बाटो छेक्ने मात्रै होइन, आलोचनात्मक आवाज थुन्ने प्रयास पनि हो । यो घटना स्वतन्त्र प्रेससँगै विपक्षी नेतृत्वलाई मनोवैज्ञानिक दबाबमा राख्ने, डर देखाउने र प्रश्न गरे परिणाम भोग्नुपर्छ भन्ने सन्देश दिने प्रयास हो ।’

सञ्चारमाध्यम र प्रतिपक्ष सरकारका शत्रु नभएको उल्लेख गर्दै उनले लेखेका छन्–‘सञ्चारमाध्यम र प्रतिपक्ष सरकारका शत्रु होइनन् । उनीहरू जनताका आँखाअघि राज्यका कामकारबाही जस्ताको तस्तै देखाउने ऐना हुन् । ऐना फुटाएर अनुहार सुन्दर देखिँदैन ।’

सहकारीपीडित, मिटरब्याजपीडित, सुकुम्वासी समस्या, मुगुका गणेश नेपालीले राज्यको दुर्व्यवहारका कारण तथा सर्लाहीका विवेक मण्डलले बेरोजगारीका कारण आत्मदाह गर्नुपरेको घटनाजस्ता विषयमा सरकारलाई प्रश्न गर्ने सञ्चारगृह र प्रतिपक्षी नेताको गेट छेक्दैमा जनताको आवाज रोक्न नसकिने उनको भनाइ छ ।

उनले भनेका छन्–‘गाडीले गेट त छेकिएला, तर जनआवाज छेक्न सकिँदैन । इतिहासले पुष्टि गरेको छ, गेट छेकिए पनि प्रश्नको बाटो बन्द हुँदैन ।’

सोमबार कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजन, कांग्रेस सभापति गगन थापाको निवास अगाडि शंकास्पद ढंगले सवारीसाधन पार्क गरेर चालक सम्पर्कविहीन भएका थिए ।

कान्तिपुर पब्लिकेसन्स्‌को गेटमा शंकास्पद रुपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालको भएको खुलेको छ ।
त्यस्तै अनलाइनखबर अगाडि राखिएको शंकास्पद गाडी भने काठमाडौं ठेगाना भएका सुनिल पौडेलको नाममा रहेको भेटिएको छ ।

हिमालय टेलिभिजनको गेटमा पार्किङ गरिएको गाडी डीआर अटो मोबाइल्सको नाममा रहेको पाइएको छ । दर्ता किताबमा राजीवकाजी श्रेष्ठको नाम समेत उल्लेख छ । ती गाडीहरु प्रहरीले क्रेनले उठाएर बग्गीखाना ल्याएको थियो ।

प्रकाशित मिति: ३० असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्