अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
एरिजोना । ताइवानको विश्वप्रसिद्ध चिप निर्माता कम्पनी टीएसएमसीले अमेरिकाको एरिजोना राज्यमा उत्पादन विस्तार गर्न थप १ खर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार यस लगानीले दसौँ हजार नयाँ रोजगारी सिर्जना गर्नेछ र अमेरिकामा उन्नत चिप उत्पादनलाई थप मजबुत बनाउनेछ।
टीएसएमसीका प्रमुख कार्यकारी अधिकृत सीसी वेईले नयाँ लगानीसँगै एरिजोनामा चार नयाँ चिप उत्पादन केन्द्र निर्माण हुने सम्भावना रहेको बताए। यससँगै कम्पनीको अमेरिकामा कुल लगानी प्रतिबद्धता २ खर्ब ६५ अर्ब डलर पुगेको छ
टीएसएमसीले एनभिडिया, एप्पललगायत विश्वका ठुला प्रविधि कम्पनीका लागि अत्याधुनिक चिप उत्पादन गर्छ। कृत्रिम बौद्धिकता, डेटा सेन्टर र स्मार्ट उपकरणमा प्रयोग हुने चिपको माग तीव्र रूपमा बढेपछि कम्पनीको व्यापार पनि उल्लेखनीय रूपमा विस्तार भएको छ।
कम्पनीले अप्रिलदेखि जुनसम्मको दोस्रो त्रैमासमा २२ अर्ब अमेरिकी डलर खुद नाफा कमाएको जनाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७७ प्रतिशत बढी हो। सन् २०२५ को दोस्रो त्रैमासमा कम्पनीका नाफा १२ अर्ब ४० करोड अर्ब डलर थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभित्रै अत्याधुनिक सेमिकन्डक्टर उत्पादन बढाउने नीतिलाई प्राथमिकता दिएका छन् । कोभिड–१९ महामारीका बेला देखिएको चिप अभावपछि अमेरिका आपूर्ति शृङ्खला सुदृढ बनाउन प्रयासरत छ।
अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकले टीएसएमसीको नयाँ लगानीले अमेरिकामा उच्च प्रविधियुक्त र उच्च तलब भएका हजारौँ रोजगारी सिर्जना गर्ने तथा उन्नत सेमिकन्डक्टर उत्पादनलाई पुनः अमेरिकामा स्थापित गर्न सहयोग पुग्ने बताएका छन्।
प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार







