सांसदलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन
काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई आर्थिक वर्ष २०८२/८३ को अद्यावधिक सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ।
शुक्रबार सूचना जारी गर्दै सचिवालयले सांसदहरूलाई आफ्नो तथा परिवारका सदस्यहरूको नाममा रहेको चल–अचल सम्पत्ति, त्यसको स्रोत वा निस्सासहितको विवरण खामबन्दी गरी तोकिएको समयभित्र पेश गर्न आग्रह गरेको हो।
सचिवालयका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम सार्वजनिक पद धारण गरेका व्यक्तिले नियमित रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ।
सोही व्यवस्था कार्यान्वयनका लागि सांसदहरूबाट सम्पत्ति विवरण संकलन गर्न लागिएको जनाएको छ।
सूचनाअनुसार सांसदहरूले साउन १ गतेदेखि भदौ २९ गतेभित्र सम्पत्ति विवरण सचिवालयमा बुझाइसक्नुपर्नेछ।
साथै संसद् सचिवालयले तोकिएको समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने सांसदमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।
प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार







