शिक्षक महासंघले भन्यो–दुर्गेश थापाको ‘मास्टर्नी’ गीत तुरून्त बन्द गर
काठमाडौं । नेपाल शिक्षक महासंघले फिल्म ‘मास्टर्नी’ को ‘म्याथ सिक्ने भए…’ बोलको प्रबर्धनात्मक गीतलाई तुरून्त बन्द गर्न माग गरेको छ ।
‘मास्टर्नी’ चलचित्रको प्रमोसनल गीतप्रति ध्यानाकर्षण भएको जनाउँदै महासंघले महिला शिक्षकप्रति लक्षित शब्द अमर्यादित भएको ठहर गरेको छ ।
शुक्रबार विज्ञप्ती जारी गर्दै शिक्षक महासंघले उक्त गीतलाई चलचित्रमा समेत प्रयोग नगर्न आग्रह गरेको छ ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा संयुक्तरूपमा जारी विज्ञप्तीमा भनिएको छ–‘महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको नेपाली चलचित्र ‘मास्टर्नी’ को भर्खरै सार्वजनिक गीतले शिक्षक र गणित पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको छ । त्यो गीतले निरन्तरता पाएमा त्यसबाट उत्पन्न हुनसक्ने असहज परिणामप्रति चलचित्र निर्माता र त्यससँग सम्बन्धित कलाकार नै जिम्मेवार हुने कुरामा सचेत गराउँछौं ।’
५ भदौदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मास्टर्नी’ ले प्रचारात्मक सामाग्रीका रूपमा गत मंगलबार सार्वजनिक गरिएको उक्त गीतलाई जनस्तरबाट समेत अधिकांशले ‘दुईअर्थी लाग्ने छाडा’ भनेका छन् ।
तर, फिल्मकी निर्माता तथा कलाकारसमेत रहेकी प्रियंका कार्कीले भने उक्त गीतलाई केवल मनोरन्जनका लागि मात्र लिईदिन आग्रह गरेकी छन् ।
दुर्गेश थापाको शब्द, संगीत रहेको उक्त गीतमा स्वर पनि थापाकै रहेको छ । उनले बबिना किराँतीसँग युगल गाएका हुन् । त्यसैगरी, गीतमा प्रियंका कार्की, दुर्गेश थापासहित आर्यन सिग्देल, आयुष्मान जोशीले अभिनय गरेका छन् ।

प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार







