२५ वर्षपछि दरबार हत्याकाण्डबारे किन बोल्दैछन् ओली ?, दीपेन्द्रले बाबुआमाको हत्या नगरेको दावी
काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गतेको दरबार हत्याकाण्डबारे वर्षौंदेखि फैलाइएको सूचना सही नभएको दाबी गरेका छन्।
नेकपा एमालेको वेबसाइट तथा मोबाइल एपको नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई शुक्रबार च्यास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै ओलीले दरबार हत्याकाण्डबारे एकपक्षीय सूचना र अफवाहले लामो समयसम्म जनमानसमा प्रभाव पारेको बताए।
उनले दरबार हत्याकाण्डपछि युवराज दीपेन्द्र शाहले तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्या शाहसहित परिवारका सदस्यको हत्या गरेर आत्महत्या गरेको भन्ने कथा विश्वभर फैलाइएको उल्लेख गर्दै त्यसलाई सही सूचना मान्न नसकिने दाबी गरे।
उनले भने–‘बीस वर्षसम्म एकपक्षीय सूचनाले राज गर्यो। बिनाअध्ययन अफवाहले हाम्रो दिमागमा घर गर्यो। एउटा कथा बनाइयो, त्यसलाई विश्वभरका सञ्चारमाध्यमले फैलाए। वास्तवमा त्यो सूचना सही होइन। दीपेन्द्रले बाबुआमाको हत्या गरेका होइनन् ।’
झुट पत्याउने बानी समाजमा पर्न लागिसकेको बताउँदै उनले भने–‘समाजमा तथ्यभन्दा हल्ला र झुटो सूचना छिटो पत्याउने प्रवृत्ति बढ्दै गएको छ । जादु गरेजस्तो एकैछिनमा यस्तो काम भयो भनेर हल्ला गरिन्छ। झुट पत्याउने बानी समाजमा पर्न लागिसकेको छ ।’
दरबार हत्याकाण्डपछि पटक–पटक देशको बागडोर सम्हालेका ओलीले उक्त घटनाको छानविन गर्ने आँट भने कहिल्यै गरेनन् । तर, २५ वर्षपछि आज आएर दिपेन्द्रले आमाबाबुको हत्या नगरेको दाव गर्दा आम जनताले यसलाई कसरी लिन्छन् ? त्यो भने समयले नै बताउने छ ।
कार्यक्रममा बोल्दै उनले एमालेलाई अझै धेरै एक्ल्याउने प्रयास भइरहेको बताए । प्रदेश सरकारमा कांग्रेसले साथ छाडेको प्रसङ्गलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन्। तर, उनले एमाले अरू कसैको लहरोमा मात्रै अघि बढ्ने पार्टी नभएको दाबी समेत गरे ।
उनले भने–‘हामीले धक्का खाएका छौं । धक्का खाएको हो, सिद्दिएको होइन । हामी नवीकृत भएर अघि बढ्नेछौं भन्ने कुराको संकेत यो हो । हामीलाई एक्लाउने प्रयासहरू अझै बढी निरन्तर अघि बढिरहेकै छन् । एक्ल्याउने प्रयास अघि बढिरहेका छन् ।’
आँधी, हुरी, तुफान, बाढीलगायत धेरैसँग सामना गर्दै आएको पार्टी एमाले भएको दावी गर्दै उनले कसैलाई नसमाति अघि बढ्नै नसक्ने भने नहुने जिकिर गरे ।
उनले भने–‘हामी यस्तो लहरो होइन, जसले अर्कालाई नसमातिकन उठ्नै सक्दैन । हामी एउटा स्वतन्त्र वृक्ष हौं । दह्रो, मजबुत र विशाल वृक्ष हो । अरुको बलमा उभिएका पनि होइन । आफैं हुर्किंदै, आँधी हुरी तुफान बाढी अनेक चिजहरूसँग सामना गरेर आएका छौं । तर, अर्को कसैलाई नसमातिकन उठ्नै नसक्नेखालको त्यान्द्रो होइन, एमाले । एमाले आफू एउटा स्वतन्त्र हैसियत भएको पार्टी हो ।’
नेकपा एमाले परिस्थितिसँग नआत्तिने जिकिर गर्दै उनले भने–‘अनुकूतला आयो भने हौसिने र प्रतिकूलता आयो भने निराश हुने पार्टी होइन ।’
प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार







