बंगाल खाडीमा विकसित मनसुन प्रणाली उत्तर-पश्चिम सर्दै, नेपालमा २ दिन धेरै ठुलो वर्षाको सम्भावना
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन जारी गर्दै आज शनिबार र भोलि आइतबार मनसुन थप सक्रिय भई ठुलो वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ।
उल्लिखित २ दिन भीषण वर्षा हुने भएकाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न मौसम महाशाखाले सबै नागरिकलाई सतर्क रहन सुझाव दिएको छ।
मौसम महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तर(पश्चिम दिशामा सर्ने क्रममा रहेकाले मनसुन थप सक्रिय हुने सम्भावना देखिएको हो।
सूचनामा भनिएको छ, ‘मिति २०८३/०४/२ गते शनिबार र ३ गते आइतबार मनसुनी गतिविधि बढ्न गई देशका हिमालीरपहाडी भूभाग, कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। देशभर धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली उत्तरपश्चिम दिशामा सर्ने क्रममा रहेकाले मनसुन थप सक्रिय हुने सम्भावना छ।’
प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार







