कोशी नदीमा बहाव बढ्दो, सोमबारसम्म सतर्कता तह पार गर्न सक्ने चेतावनी



काठमाडौँ, ३ साउन । जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव निरन्तर बढिरहेको भन्दै नदीले सोमबारसम्म सतर्कता तह पार गर्न सक्ने चेतावनी दिएको छ।

उपल्लो जलाधार क्षेत्रमा लगातार वर्षा भइरहेकाले कोशी नदीको जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको विभागले जनाएको छ।

बाढीविद् सरस्वती विष्टका अनुसार आइतबार साँझसम्म कोशी नदीको जलसतह ४ दशमलव ७८ मिटर पुगेको छ र बहाव अझै बढ्दो क्रममा छ। उपल्लो क्षेत्रमा रातभर वर्षा जारी रहने सम्भावना रहेकाले सोमबार बिहानसम्म नदीले ६ मिटरको सतर्कता तह पार गर्न सक्ने उनले बताइन्।

उनका अनुसार नदीको जलसतह ६ मिटर पुगेमा सतर्कता तह र ७ मिटर पुगेमा खतरा तह पार गर्नेछ। त्यसैले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित बाढी जोखिमलाई ध्यानमा राख्दै कोशी ब्यारेजका ५२ वटै ढोका खोल्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए।

उनले बाढीको अवस्थाको निरन्तर अनुगमन भइरहेको र आवश्यक परे पूर्वतयारी तथा प्रतिकार्यका सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको बताए।

विभागले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने जनाएको छ। नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा स्थानीय तहलाई उच्च सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ।

Provide your feedback on BizChat

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्