चितवनमा पहिरो पन्छाइयो, धादिङमा सडक अवरुद्ध हुँदा यातायात अझै ठप्प
चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई स्थानमा खसेको पहिरो हटाइए पनि धादिङमा सडक अवरुद्ध रहेकाले काठमाडौं–चितवन आवतजावत गर्ने सवारीसाधन अझै सञ्चालन हुन सकेका छैनन्।
इच्छाकामना गाउँपालिका–२ को फिस्लिङस्थित पानीधारा र चुमखोलामा आइतबार बिहान खसेको पहिरो पन्छाएर बिहान ९ः३० बजेदेखि सडक खुलाइएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार धादिङको जवाङ खोलामा पहिरो खसेर सडक अवरुद्ध भएकाले चितवनतर्फको सडक खुले पनि सवारीसाधन सञ्चालन गर्न नसकिएको हो। त्यसैले चितवनबाट काठमाडौंतर्फ जाने सवारीसाधन चुम्लिङटार, कुरिनटार र मुग्लिन क्षेत्रमा रोकिएका छन्।
यद्यपि, नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै पोखरातर्फ जाने र आउने सवारीसाधन भने नियमित रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
लगातारको वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले शनिबार रातिदेखि नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सवारी आवागमन रोकेको थियो।
धादिङमा पहिरो नहट्दासम्म काठमाडौं–चितवन आवतजावत प्रभावित रहने देखिएको छ। यसका कारण रातिदेखि रोकिएका सयौँ सवारीसाधन विभिन्न स्थानमा अलपत्र परेका छन् ।
प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार







