जनताको मुद्दा तथ्य र प्रमाणसहित संसद्मा उठाउन ओलीको निर्देशन
काठमाडौँ, ३ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क र अध्ययनका आधारमा सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घीय सांसदहरूलाई निर्देशन दिएका छन्।
पार्टीको केन्द्रीय संसदीय विभागले च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले जनसरोकारका विषयमा गहिरो अध्ययनसहित राष्ट्रिय हितलाई केन्द्रमा राखेर संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे।
बलियो प्रतिपक्ष सरकारको आलोचनामा मात्र सीमित नहुने उल्लेख गर्दै उनले तथ्यमा आधारित बहस र जिम्मेवार भूमिकामार्फत लोकतान्त्रिक अभ्यासलाई थप सशक्त बनाउनुपर्ने बताए।
“बलियो प्रतिपक्ष भनेको केवल सरकारको आलोचना गर्ने शक्ति मात्र होइन,” ओलीले भने, “जनताको आवाजलाई नीति निर्माण प्रक्रियामा तथ्य र प्रमाणका आधारमा अझ बुलन्द बनाउन र सरकारलाई थप जवाफदेही बनाउन सांसदहरू सक्षम, जिम्मेवार र दूरदर्शी हुनुपर्छ।”
एमालेले राजनीतिक अनुभवलाई विज्ञता, अनुसन्धान र बौद्धिक क्षमतासँग जोड्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरेको उनले बताए।
कार्यक्रममा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल तथा संसदीय दलका उपनेता पद्माकुमारी अर्याललगायतले प्रशिक्षण दिएका थिए।
Provide your feedback on BizChat
प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार







