गोरखा अस्पताललाई १०० शैयामा स्तरोन्नति गर्न गृहमन्त्रीसमक्ष माग



सुलीकोट, ३ साउन । गोरखा अस्पताललाई १०० शैयामा स्तरोन्नति गर्न, आवश्यक जनशक्ति व्यवस्थापन गर्न तथा नवजात शिशु सघन उपचार कक्ष (एनआइसियु) र मेडिकल सघन उपचार कक्ष (आइसियु) सञ्चालनका लागि उपकरण र दक्ष जनशक्ति उपलब्ध गराउन गृहमन्त्री सुधन गुरुङसमक्ष माग गरिएको छ।

गोरखा अस्पतालमा भएको भेटघाटका क्रममा अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासनले जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन अस्पतालको क्षमता विस्तार आवश्यक रहेको विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकालले बिरामीको चाप निरन्तर बढ्दै गएकाले हालको संरचना र जनशक्तिले सेवा प्रवाहमा चुनौती सिर्जना भएको बताए। गोरखा अस्पताललाई १०० शैयामा स्तरोन्नति गर्नु अपरिहार्य भएकाले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको उनले बताए।

अस्पतालले नवजात शिशु तथा जटिल अवस्थाका बिरामीको जिल्लामै उपचार गर्न एनआइसियु र मेडिकल आइसियु सञ्चालनका लागि आवश्यक उपकरण, विशेषज्ञ चिकित्सक, नर्स तथा प्राविधिक जनशक्ति उपलब्ध गराउन पनि आग्रह गरेको छ।

त्यसैगरी, अस्पतालमा निर्बाध स्वास्थ्य सेवा सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी डेडिकेटेड विद्युत् लाइन उपलब्ध गराउन पहल गरिदिन अनुरोध गरिएको अस्पतालका प्रमुख सुपरिटेन्डेन्ट शम्भु अधिकारीले बताए।

विद्युत् आपूर्तिमा हुने अवरोधले आकस्मिक सेवा, शल्यक्रिया तथा सघन उपचार सेवा प्रभावित हुने भएकाले यस विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने अस्पतालको भनाइ छ।

गृहमन्त्री गुरुङले स्वास्थ्य सेवा सुदृढीकरणसँग सम्बन्धित मागलाई सकारात्मक रूपमा लिँदै सम्बन्धित मन्त्रालय तथा निकायसँग आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्