पहिरोको जोखिम बढेपछि आज रातिदेखि नारायणगढ–मुग्लिन सडक बन्द हुने
चितवन, ३ साउन । स्थानीय प्रशासनले पहिरोको उच्च जोखिमका कारण नारायणगढ–मुग्लिन सडकखण्ड तथा चितवनतर्फको पृथ्वी राजमार्गमा आज राति १० बजेदेखि सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार चितवन, धादिङलगायत क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सडकमा पहिरो जाने जोखिम बढेकाले रातिको समयमा सवारी सञ्चालन रोक्न लागिएको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातिको समयमा यात्रा गर्दा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ।
प्रशासनले अत्यावश्यक यात्रा गर्नुपर्ने अवस्था आए स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।
वर्षायामका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको जोखिम बढ्दै गएको छ। शनिबार राति पनि यही सडकखण्डमा सवारी सञ्चालन रोकिएको थियो।
प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार







