सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस गर्नुपर्छ : गगन थापा



गण्डकी, ३ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस अघि बढाउनुपर्ने बताएका छन्।

प्रजातान्त्रिक विचार समाज, कास्कीले पोखरामा आयोजना गरेको ‘संविधान संशोधन सुझाव’ विषयक विचार गोष्ठीमा उनले संविधान संशोधनका लागि सबैभन्दा पहिले प्राथमिकता निर्धारण गर्नुपर्ने बताए।

कांग्रेसले सुशासन, संविधानको संस्थागत विकास र सङ्घीयताको सुदृढीकरणलाई चुनावी प्रतिबद्धतामै समावेश गरेको उल्लेख गर्दै थापाले वर्तमान समयमा सुशासन नै सबैभन्दा महत्वपूर्ण विषय भएको बताए। नयाँ पुस्ताले पनि यही मुद्दा उठाइरहेको भन्दै उनले सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस सुरु गर्नुपर्ने धारणा राखे।

संविधान संशोधनको विषयलाई संवेदनशील रूपमा लिनुपर्ने बताउँदै उनले यसले सही दिशा नलिए मुलुक नयाँ द्वन्द्वतर्फ जान सक्ने चेतावनी दिए। संविधानलाई केवल कागजी दस्तावेज नभई जीवन्त प्रक्रिया भएको उल्लेख गर्दै उनले ऐतिहासिक चेत र गम्भीरताका साथ संशोधनको बहस हुनुपर्ने बताए।

थापाले लोकतन्त्र, विधिको शासन, नागरिक अधिकार र संविधानवादका आधारभूत मूल्यबाहेक संविधान संशोधनका अन्य विषयमा कांग्रेस खुला रूपमा छलफल गर्न तयार रहेको बताए। संविधानको सर्वोच्चता र नागरिक अधिकारमाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने उनले उल्लेख गरे।

नेपालजस्तो मुलुकमा संसद्बाट कार्यकारी प्रमुख चयन हुने शासन प्रणाली र मिश्रित निर्वाचन प्रणाली उपयुक्त रहेको उनको भनाइ थियो। प्रदेश र स्थानीय तहलाई थप अधिकारसम्पन्न बनाउनुपर्नेमा पनि उनले जोड दिए।

सरकारप्रति कुनै पूर्वाग्रह नरहेको उल्लेख गर्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई पाँच वर्ष काम गर्ने अवसर दिइनुपर्ने बताए। तर सरकारका कमजोरी र त्रुटिमाथि प्रमुख प्रतिपक्षी दलका रूपमा निरन्तर खबरदारी गर्ने उनले बताए।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयतालाई थप सुदृढ बनाउनुपर्ने बताए। सङ्घीय सरकारबाट आवश्यक कानुन नबन्दा प्रदेश सरकारलाई कानुन कार्यान्वयनमा समस्या भएको उनले उल्लेख गरे।

प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले लोकतन्त्रका आधारभूत मूल्य–मान्यतामा असर नपर्ने गरी संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे।

कार्यक्रममा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा तथा अन्य वक्ताहरूले संविधान संशोधनको आवश्यकता र औचित्यमाथि आफ्ना धारणा राखेका थिए।

Provide your feedback on BizChat

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्