वर्षासँगै झाडापखाला, हैजा र डेङ्गुको जोखिम बढ्यो, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ, ३ साउन । निरन्तर वर्षासँगै झाडापखाला, हैजा र डेङ्गु रोगको जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जारी गरेको सूचनाअनुसार वर्षायाममा दूषित पानी तथा असुरक्षित खाद्य पदार्थका कारण झाडापखाला र हैजाको जोखिम बढ्ने भएकाले खानेपानी र सरसफाइमा विशेष ध्यान दिन आवश्यक रहेको जनाएको छ।
मन्त्रालयले उमालेको वा क्लोरिन प्रयोग गरी शुद्ध बनाइएको पानी मात्र पिउन, साबुनपानीले नियमित हात धुन, बासी तथा सडेगलेका खाद्य पदार्थ नखान, खाना छोपेर राख्न तथा फलफूल र तरकारी राम्रोसँग सफा गरेर मात्र सेवन गर्न आग्रह गरेको छ।
खुला दिसापिसाब नगर्न र अनिवार्य रूपमा शौचालय प्रयोग गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।
त्यसैगरी, एडिस जातको लामखुट्टेको टोकाइबाट फैलिने डेङ्गु रोगबाट बच्न घर तथा कार्यस्थल आसपास पानी जम्न नदिन, झ्यालढोकामा जाली राख्न, झुल प्रयोग गर्न तथा शरीर ढाक्ने कपडा लगाउन सुझाव दिइएको छ।
मन्त्रालयले खानेपानी तथा खाद्यान्न वितरणसँग सम्बन्धित निकाय र व्यवसायीलाई पनि खाद्य तथा पानीको स्वच्छता कायम राख्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार







