विश्वकप फाइनलमा गोलरक्षकको महायुद्ध : मार्टिनेज कि सिमोन, कसले उचाल्ला उपाधि ?



काठमाडौँ, ३ साउन । फिफा विश्वकप–२०२६ को उपाधि भिडन्तमा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन आमनेसामने हुँदैछन्।

न्युजर्सीमा हुने फाइनल खेल अर्जेन्टिनाका कप्तान लियोनल मेसीका लागि अर्को विश्वकप ट्रफी जित्ने अवसर भए पनि यो खेलको अर्को आकर्षण दुवै टोलीका गोलरक्षकबीचको प्रतिस्पर्धा बनेको छ।

प्रतियोगितामा सर्वाधिक १९ गोल गरेको अर्जेन्टिना र सात खेलमा केवल एक गोल मात्र व्यहोरेको स्पेनबीचको फाइनलमा गोलरक्षकहरूको प्रदर्शन निर्णायक बन्न सक्ने देखिएको छ।

अर्जेन्टिनाका एमिलियानो मार्टिनेज र स्पेनका उनाइ सिमोन वर्तमान विश्व फुटबलका उत्कृष्ट गोलरक्षकमध्ये पर्छन्। मार्टिनेजले कतार विश्वकप २०२२ मा गोल्डेन ग्लोभ जितेका थिए भने सिमोनले युरो २०२४ मा स्पेनलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

यस विश्वकपमा सिमोनले लगातार ६५० मिनेट गोल नखाई नयाँ कीर्तिमान कायम गरेका छन्। क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध खाएको गोल नै हालसम्म स्पेनले प्रतियोगितामा व्यहोरेको एकमात्र गोल हो।

स्पेनको खेलशैलीमा सिमोनको भूमिका गोलरक्षकमा मात्र सीमित छैन। उनी रक्षाबाट खेल निर्माण गर्ने अतिरिक्त खेलाडीका रूपमा समेत सक्रिय रहन्छन्। उच्च आत्मविश्वास र जोखिम मोलेर खेल्ने शैलीका कारण उनी स्पेनको रणनीतिक योजनाको महत्वपूर्ण हिस्सा बनेका छन्।

यता अर्जेन्टिनाले प्रतियोगिताभर सात गोल व्यहोरे पनि मार्टिनेजले महत्वपूर्ण क्षणमा टोलीलाई बचाएका छन्। विशेषगरी ठूला खेल र दबाबपूर्ण परिस्थितिमा चम्किने क्षमताका कारण उनी विश्व फुटबलका सबैभन्दा भरोसायोग्य गोलरक्षक मानिन्छन्।

कतार विश्वकप २०२२ को फाइनलमा फ्रान्सविरुद्ध अतिरिक्त समयको अन्तिम क्षणमा गरेको अविस्मरणीय बचाउ अझै फुटबल समर्थकको स्मृतिमा ताजै छ। पेनाल्टी सुटआउटमा पनि खेलको नतिजा बदल्न सक्ने सामर्थ्य उनीसँग रहेको मानिन्छ।

फाइनल खेल यदि पेनाल्टी सुटआउटसम्म पुग्यो भने मार्टिनेजको अनुभव अर्जेन्टिनाका लागि ठूलो आधार बन्न सक्छ। अर्कोतर्फ, सिमोनको स्थिरता र उत्कृष्ट रक्षात्मक समन्वय स्पेनको मुख्य बल हुनेछ।

न्युजर्सीमा हुने उपाधि भिडन्तमा मेसी र यामालजस्ता स्टार खेलाडीमात्र होइन, गोलपोस्ट अगाडि उभिएका यी दुई उत्कृष्ट गोलरक्षकको प्रदर्शनले पनि विश्वकप ट्रफी कसले उचाल्ने भन्ने टुङ्गो लगाउन सक्छ।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्