विश्वकप विजेता स्पेनलाई पाँच करोड १० लाख डलर पुरस्कार, अन्य ४७ टोलीले कति पाए ?



काठमाडौं । फिफा विश्वकप–२०२६ को उपाधि स्पेनले जितेको छ ।

अमेरिकाको न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गर्दै स्पेनले विश्व फुटबलको सर्वोच्च उपाधि दोस्रोपटक आफ्नो नाममा लेखाएको हो।

निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। तनावपूर्ण र प्रतिस्पर्धात्मक बनेको खेलको १०६औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फेरान टोरेसले निर्णायक गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए ।

उपाधिसँगै स्पेनले सन् २०१० पछि दोस्रोपटक विश्वकप ट्रफी उचालेको छ। यता, लियोनल मेस्सीको कप्तानीमा लगातार दोस्रोपटक विश्वकप जित्ने अर्जेन्टिनाको सपना भने अधुरै रह्यो । सम्भावित अन्तिम विश्वकप खेलेका मेस्सीले यसपटक प्रतियोगिता उपविजेताका रूपमा टुंग्याएका छन्।

फाइनलपछि भएको पुरस्कार वितरण समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनो संयुक्त रूपमा उपस्थित हुँदै विजेता स्पेनलाई विश्वकप ट्रफी प्रदान गरेका थिए।

फिफाले विश्वकप–२०२६ का लागि पुरस्कार रकममा उल्लेखनीय वृद्धि गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। च्याम्पियन बनेको स्पेनले विश्वकप ट्रफी र च्याम्पियनसिप औँठीसँगै ५ करोड १० लाख अमेरिकी डलर ९५१ मिलियन डलर० पुरस्कार पाउनेछ।

यो रकम सन् २०२२ को कतार विश्वकप विजेता अर्जेन्टिनाले प्राप्त गरेको ४ करोड २० लाख डलर भन्दा बढी हो।

फिफाले यसपटक विश्वकपमा सहभागी ४८ टोलीलाई गरी कुल ८७ करोड १० लाख अमेरिकी डलर वितरण गरेको छ। प्रतियोगिताको खर्च व्यवस्थापन र पुरस्कार रकम वृद्धि गर्न युरोपेली फुटबल संघहरूको दबाबपछि थप रकमसमेत समावेश गरिएको थियो।

यद्यपि, विश्वकप विजेताले पाउने ५१ मिलियन डलर ठूलो रकम भए पनि विश्व फुटबलमा हुने अन्य आर्थिक कारोबारको तुलनामा यो कम रहेको टिप्पणी गरिएको छ।

विश्वकप–२०२६ को पुरस्कार रकम

विजेता (स्पेन) : ५ करोड १० लाख अमेरिकी डलर

उपविजेता (अर्जेन्टिना) : ३ करोड ४० लाख अमेरिकी डलर

तेस्रो स्थान (इंग्ल्याण्ड) : ३ करोड अमेरिकी डलर

चौथो स्थान (फ्रान्स) : २ करोड ८० लाख अमेरिकी डलर

क्वार्टरफाइनल पुग्ने टोली : २ करोड अमेरिकी डलर प्रति टोली

प्रि–क्वार्टरफाइनल (राउन्ड अफ १६) : १ करोड ६० लाख अमेरिकी डलर प्रति टोली

राउन्ड अफ ३२ : १ करोड २० लाख अमेरिकी डलर प्रति टोली

समूह चरण : १ करोड अमेरिकी डलर प्रति टोली

यसका अतिरिक्त, विश्वकपमा सहभागी सबै ४८ राष्ट्रिय फुटबल संघले कम्तीमा १ करोड २५ लाख अमेरिकी डलर प्राप्त गरेका छन्। यसमा छनोट र समूह चरणको रकमसँगै प्रतियोगितापूर्व तयारी खर्चका लागि छुट्याइएको रकमसमेत समावेश छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्