मंगलबारसम्म भारी वर्षाको सम्भावना, ६ प्रदेशमा वर्षा जारी



काठमाडौँ, ३ साउन । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशका ६ प्रदेशका विभिन्न क्षेत्रमा मध्यम खालको वर्षा भइरहेको जनाएको छ। महाशाखाका अनुसार मंगलबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा सक्रिय बनेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबार राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। बागमती प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्र तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

सोमबार र मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सोमबार कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रसँगै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मंगलबार पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

विभागले सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्