सोमबार १,२५० मेट्रिकटन डीएपी मल नेपाल आइपुग्ने
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले १ हजार २५० मेट्रिकटन डीएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाएको छ।
मन्त्रालयका अनुसार ‘ग्लोबल टेन्डर’मार्फत खरिद गरिएको ३० हजार मेट्रिकटन डीएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई १० मा आइपुगेको थियो। उक्त परिमाणमध्ये १ हजार २५० मेट्रिकटन मल साउन १ गते नेपालतर्फ ढुवानी सुरु गरिएको थियो।
बाँकी मलको प्याकेजिङ (ब्यागिङ) कार्य अहिले कोलकाता बन्दरगाहमा भइरहेको मन्त्रालयले जनाएको छ। प्याकेजिङ सम्पन्न भएपछि बाँकी खेप पनि क्रमशः नेपाल भित्र्याइनेछ।
कृषि, वन तथा पर्यावरण मन्त्रीको सचिवालयका अनुसार किसानलाई समयमै मल उपलब्ध गराउने उद्देश्यले आपूर्ति प्रक्रिया तीव्र बनाइएको छ।
नेपालमा रासायनिक मलको आपूर्ति तथा वितरण व्यवस्थापनको जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेडले सञ्चालन गर्दै आएको छ।
प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार







