सुनसरी घटनाबारे उच्चस्तरीय समीक्षा गर्न केन्द्रीय सुरक्षा समिति बैठक बस्दै



काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको तनाव र त्यसपछिको सुरक्षा अवस्थालाई केन्द्रमा राख्दै सरकारले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ।

गृह मन्त्रालयमा आज साँझ ५ बजे बस्ने उच्चस्तरीय बैठकमा घटनाको समग्र समीक्षा गर्दै देशभरको शान्ति–सुरक्षा अवस्था र आगामी सुरक्षा रणनीतिबारे विस्तृत छलफल गरिनेछ।

बैठकमा गृहसचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी), सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक तथा नेपाली सेनाका प्रतिनिधिको सहभागिता रहने गृह मन्त्रालयले जनाएको छ।

यसअघि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग आकस्मिक छलफल गरी देवानगञ्ज घटनाबारे विस्तृत ब्रिफिङ लिएका थिए। सोही छलफलपछि घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो।

आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने सर्वसाधारण र सुरक्षाकर्मीसहित दर्जनौँ घाइते भएका छन्।

घटनापछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ भने विभिन्न स्थानमा प्रदर्शन र सुरक्षा चुनौती देखिएपछि सरकारले उच्चस्तरीय सुरक्षा समीक्षा बैठक बोलाएको हो।

सरकारले बैठकबाट देवानगञ्ज घटनापछि उत्पन्न सुरक्षा चुनौतीको मूल्याङ्कन गर्दै संवेदनशील क्षेत्रको सुरक्षा व्यवस्थापन, सम्भावित जोखिम न्यूनीकरण र शान्ति–सुव्यवस्था कायम राख्ने विषयमा आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार