तमोर‍ सडकमा ब्रेक फेल हुँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु



काठमाडौं । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटार स्थित तमोर–करिडोर सडकखण्डमा ब्रेक फेल भएर दुर्घटना भएपछि ट्रकमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ ।

विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको लोबेड ९ट्रक० ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएपछि अचानक आगलागी भएको थियो ।


घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । ट्रकको अगाडिको भागमा लागेको आगोमा परी चालक भोजपुरका ३० वर्षीय विशाल राई ट्रकबाट बाहिर निस्किए पनि जलेर मृत्यु भएको छ ।

दुर्घटनामा ट्रकका सहचालक जिल्ला तेह्रथुम, म्याङ्लुङ नगरपालिका–९ निवासी १८ वर्षीय सञ्जीव सङ्ग्रौलाले भने सकुशल रहेका छन् । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार